• बैशाख २८ २०८३, सोमबार

सचिवहरुलाई प्रधानमन्त्री प्रचण्डको निर्देशनात्मक सम्बोधनः कमजोरी पन्छाएर उम्कने छुट अब कसैलाई छैन

पुष १९ २०७९, मंगलवार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले मन्त्रालयका सचिवहरुलाई सिंहदरबारमा निर्देशनात्मक सम्बोधन गरेका छन् ।

विभिन्न मन्त्रालयका सचिव तथा विभागका प्रमुखहरुको ब्रिफिङ लिएपछि प्रधानमन्त्री प्रचण्डले सचिव तथा विभागका प्रमुखहरुलाई निर्देशनात्मक सम्बोधन गरेका हुन्।

प्रधानमन्त्री प्रचण्डले अब कमजोरी अरुलाई पन्छ्याएर कर्मचारीहरु उम्किन छुट कसैलाई नभएको चेतावनी दिए । प्रधानमन्त्रीले कर्मचारीहरु स्थायी सरकार भएकाले सोहीअनुसार जिम्मेवारी बहन हुनुपर्ने बताएका छन्।

‘विकास खर्च आर्थिक वर्षको आधाआधी भइसक्दा जम्मा ११ प्रतिशत मात्र भएको छ। विकास खर्च हुन नसक्नाका कारण के हुन्? को जिम्मेवार हो? यसको कारण खोजी गरी निराकरण अब पनि नगरे कहिले गर्ने? नीतिगत तहमा समस्या भए तथ्यमा आधारित सुधारका प्रस्ताव ल्याउनुहोस्। तर कार्यान्वयनमा देखिएका कमजोरी अब कसैलाई पन्छ्याएर उम्किन मिल्दैन,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘एकातर्फ लक्ष्यअनुसार राजस्व नउठ्ने, पूँजीगत खर्च नहुने, अर्कोतर्फ भएको खर्च पनि बेरुजु पर्ने र फछर्यौट नहुने भनेको वित्तीय प्रशासनको पूरा चक्र नै समस्याग्रस्त रहेको देखियो। यसमा संवेदनशील हुन जरुरी छ।’

प्रधानमन्त्री प्रचण्डले सरकारी अस्पताल र सामुदायिक विद्यालयको स्तर खस्किएकोमा पनि प्रश्न गरेका छन्। ‘संघीयतासँग आधारभूत तहको शिक्षा र स्वास्थ्यको जिम्मेवारी स्थानीय तहलाई सुम्पिएको छ। तर सरकारी अस्पताल र सामुदायिक विद्यालयमा शिक्षाको स्तर किन खस्कियो र यसको निराकरण के हो भन्ने खोजी गर्नैपर्छ,’ प्रधानमन्त्री प्रचण्डले भने।