काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को शपथ ग्रहण कार्यक्रममा एमाले अध्यक्ष केपी ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच दोहोरो कुराकानी भएको छ । पार्टी विभाजनपछि दुई नेताबीच पहिलोपटक दोहोरो संवाद भएको हो । एमाले अध्यक्ष ओली र आफूबीच सामान्य हालखबर सोधपुछ भएको अध्यक्ष नेपालले बताए ।
‘राष्ट्रपति कार्यालयमा हामीबीच विशेष संवाद केही भएन, सामान्य हालखबर सोधपुछ भयो । एक अर्काको हालचाल सोध्यौं’ नेपालले भने । उनले संवादमा सरकारबारे कुनै कुराकानी नभएको बताए । वर्तमान गठबन्धनमा सहभागितामा कुनै हतारो नरहेको उनले बताए । ‘गठबन्धनमा सहभागिताका निम्ति कुनै हतारो छैन । हामी घटनाक्रमहरू नियालिरहेका छौं’ उनले भने ।
एमालेबाट विभाजन भएर २०७८ भदौ ९ मा एकीकृत समाजवादी गठन भएको थियो । संसद विघटनको सवालमा ओली र नेपालबीचको टकरावकै कारण पार्टी विभाजनको स्थितिमा पुगेको थियो ।