• बैशाख २८ २०८३, सोमबार

बालकोटमा बहुमतमा १६२ सिटको समीकरण जुटाउने प्रयास

पुष १० २०७९, आईतवार

काठमाडौं। कांग्रेस–माओवादीसहितको सत्ता गठबन्धन टुटेसँगै एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा वैकल्पिक गठबन्धन निर्माणको प्रयास भएको छ ।

वैकल्पिक गठबन्धन निर्माणका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीको सक्रियतामा विभिन्न दलका शीर्ष नेता सम्मिलित बैठक बसिरहेको छ ।बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नारायणकाजी श्रेष्ठ, वर्षमान पुन सहभागी छन् भने जसपाका संघीय परिषद् अध्यक्ष अशोक राई ओलीसँग छलफल गरेर फर्किसकेका छन् ।

नयाँ सरकार गठनका लागि पार्टीभित्र संस्थागत निर्णय गर्ने भन्दै उनी बालकोटबाट बाहिरिएका हुन् ।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेपनि प्रवक्ता मुकुल ढकाललाई लिएर बालकोट पुगेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन पनि केहीबेरअघि बालकोट पुगेर फर्किसकेका छन् ।

लिङ्देनले ओलीसँग भएको छलफलबारे पार्टीमा ब्रिफिङ गरिसकेका छन् ।यसैबीच केहीबेर अघि जनमत पार्टीका अध्यक्ष सीके राउत पनि बालकोट पुगेका छन् ।

बालकोटमा अहिले एमालेसहित माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीबीच छलफल भइरहेको छ । नेताहरूका अनुसार एमाले–माओवादीसहितका नेताहरु बहुमत जुटाउन लागिपरेका छन् । बालकोटमा हाल पुगेका पार्टीका सांसद संख्या जोड्ने हो भने १६२ सांसद पुग्ने देखिन्छ ।

जसमा एमालेको ७८, माओवादीको ३२, राप्रपाको १४, राष्ट्रिय स्वतन्त्र पार्टीको २०, जसपाको १२ र जनमत पार्टीको ६ सिट रहेको छ ।