• बैशाख २८ २०८३, सोमबार

प्रधानमन्त्री कस्ले पाउने भन्नेमा अब हलो अड्किंदैन : कांग्रेस नेता कार्की

पुष ९ २०७९, शनिबार

काठमाडौं । कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीले प्रधानमन्त्रीमा हलो नअड्कने दाबी गरेका छन् । शनिबार बालुवाटारमा शक्ति बाँडफाँडका लागि बसेको बैठकपछि मन्त्री कार्कीले आगामी दिनमा गठबन्धनकै सरकार बन्ने दाबी गरेका हुन् ।

उनले नयाँ सरकार गठनका लागि गठबन्धनभित्र छलफल जारी रहेको र कुनै विवाद नरहेको पनि बताए । उनले जनताको अभिमतलाई सम्मान गर्दै गठबन्धनको सरकार बनाउने सहमति भएको बताए ।

‘भोलिसम्म तपाईंहरु धैर्य गर्नुस्, आलोपालो प्रधानमन्त्रीमा कसले पहिला नेतृत्व गर्ने भन्नेमा हलो अड्किँदैन’, कार्कीले भने, ‘’प्रधानमन्त्री को पहिला हुने भन्ने कुरा गौण हो । मुलुकलाई जनताको आकाङ्क्षा अनुसार कसरी अघि बढाउने भन्ने महत्वपूणर् कुरा हो । त्यसैले गठबन्धनकै नेतृत्वमा सरकार निर्माण हुन्छ’, मन्त्री कार्कीको भनाइ छ ।

उनले छलफल जारी रहेकाले भोलि निणर्यमा पुग्नुपर्ने संवैधानिक बाध्यता रहेकाले निणर्य गरिने बताए । उनले बैठकमा मुलुकलाई अघि बढाउने विषयमा दलहरूले धारणा राखेको भन्दै बैठक सकारात्मक ढङ्गले अघि बढेको बताए । गठबन्धनको बैठक आइतबार बिहान नौ बजे बस्ने तय भएको छ ।

आइतबार राष्ट्रपतिले नयाँ सरकार गठनका लागि दिएको एक साताको समय सकिँदैछ । त्यसका लागि गठबन्धनमा सहमति जुटाएर प्रधानमन्त्री, राष्ट्रपति लगायतका पदको भागवण्डा लगाएर राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीको दाबी पेस गर्नुपर्नेछ । प्रधानमन्त्रीमा कांग्रेस सभापति देउवा र प्रचण्डको दाबी रहँदै आएको छ ।