• बैशाख २८ २०८३, सोमबार

प्रचण्ड फेरि प्रधानमन्त्री बन्ने चाहना पूरा हुन कठिन छ : केपी ओली

पुष ९ २०७९, शनिबार

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’को फेरि प्रधानमन्त्री हुने चाहना पूरा हुन कठिन हुने बताएका छन् । प्रधानमन्त्रीका हुनका लागि प्रचण्डले अहिले अधिकतम प्रयास गरिरहेका बेला ओलीले यस्तो टिप्पणी गरेका हुन् ।

शनिबार एमाले प्युठान-काठमाडौं सम्पर्क मञ्चले पार्टी केन्द्रीय कार्यालय च्यासलमा गरेको एक कार्यक्रममा उनले समयमा कदम नचालेकाले प्रचण्डको प्रधानमन्त्री हुने इच्छा समाप्त भएजस्तो आफूले देखेको बताए । प्रचण्डले प्रधानमन्त्री हुने इच्छा व्यक्त गरिरहेको तर त्यो सम्भावनालाई समयले नै समाप्त पारिदिएको ओलीको भनाइ छ । उनले अरूले पनि समयमा कदम नचाले देश मध्यावधि निर्वाचनतर्फ धकेलिन सक्ने सम्भावना समेत औँल्याए ।

‘कतिपय जो इच्छा गरिरहेका छन्, पुष्पकमल दाहालजी, जो प्रधानमन्त्रीको इच्छा गरिरहनुभएको छ । तर, उहाँले मलाई लाग्छ, ढिलो गर्नुभयो । निणर्य गर्न ढिलो गर्नुभयो । संस्कृतिमा एउटता भनाइ छ- आदेश्य, प्रदयेश्य, कर्तव्यश्य करुणा । छिप्रणा क्रिमानष्य कालति प्रवशम भन्ने एउटा नीति श्लोक छ । त्यो भनेको लिनुपर्ने कुराको, दिनुपर्ने कुराको, गर्नुपर्ने काम जेजस्ता छन्, ती समयमै गर्नुपर्दछ । भएन भने, होइन भने, समयमा कुनै काम गरिँदैन भने समयले नै त्यसको उपलब्धिलाई समाप्त पारिदिन्छ ।

समयले नै त्यसको फल खाइदिन्छ,” उनले भने, “यदि, तपाईंले आँप पाकेकै बेला टिप्नु भएन भने खान पनि पाउनु हुन्न, बेच्न पनि पाउनु हुन्न । किनभने, त्यो आफै झेरर जान्छ । त्यसको रस, त्यसको फल, त्यसको प्रतिफल, त्यसको फाइदा समयले खाइदिन्छ । त्यस्तै हुने अब उहाँको सम्भावना, सामान्यतः समाप्त भएजस्तो देखिन्छ । किनभने, उहाँले समयमा कदम चाल्नु भएन । अरूले पनि समयमा कदम चालेनन् भने समयमा आफू आफूलाई मात्रै हेरे भने देश फेरि घुमीफिरीकन मध्यावधितिर जाने त्यो सम्भावना पनि छँदैछ । जाँदैन भन्न सकिँदैन । किनभने, सरकार गठन नै हुन सकेको छैन, स्वार्थको टकरावले भने अनि सञ्चालन कसरी होला ? नेकपा एमाले मात्रै हो, हैसियत छ । राष्ट्रिय स्वार्थबाहेक दलगत स्वार्थ छैन ।”

अध्यक्ष ओलीले सत्ता गठबन्धनमा आबद्ध दलहरूबीचको स्वार्थले मुलुक कमजोर बन्ने अवस्थामा पुगेको समेत दोहोर्‍याए । उनले एमालेलाई सिध्याउँछु भन्ने तत्वहरू आफै समाप्त भएको जिकिर गरे ।