• जेष्ठ ७ २०८३, बिहीबार

झण्डै दुई दशकपछि फ्रान्स पुगे शोभराज

पुष ९ २०७९, शनिबार

काठमाडौं। कुख्यात सिरियल किलर चार्ल्स शोभराज झण्डै दुई दशक नेपालको जेलजीवन बिताएपछि आज शनिबार फ्रान्स पुगेका छन् । फ्रान्सेली नागरिक शोभराजमाथि एसियामा धेरै विदेशी पर्यटकको हत्या गरेको आरोप छ ।

७८ वर्षीय शोभराजलाई ल बिकिनी किलर भनेर पनि चिनिन्छ ।

शोभराजलाई सर्वोच्च अदालतले बुढ्यौली उमेर, खराब स्वास्थ्य अवस्था, खराब आचरण नभएको र आफ्नो सजायको अधिकांश समय भुक्तान गरिसकेको र नेपालमा आजीवन कारावासको सजाय पाएका आधारमा रिहा गर्ने आदेश दिएको थियो ।

सन् १९७५ मा अमेरिकी पर्यटक कोनी जो ब्रोन्जिचको हत्या आरोपमा सन् २००३ मा पक्राउ परेका थिए । पछि उनले ब्रोन्जिचका क्यानाडेली साथी लरेन्ट क्यारिएरीको हत्या गरेकोमा पनि दोषी पाइएको थियो । उनलाई सुनाइएको २० वर्षको सजायमध्ये १९ वर्ष काटिसकेका थिए ।

फ्रान्स फर्किने क्रममा विमानमा एएफपीलाई दिएको अन्तरवार्तामा शोभराजले दुवैको हत्या आफूले गरेको अस्वीकार गरेका थिए । उनलाई नक्कली दस्तावेजको आधारमा दोषी ठहर गरेको उनको दाबी थियो । ‘मैले धेरै गर्न बाँकी छ, मैले धेरैविरुद्ध मुद्दा हाल्नुछ,’ शोभराजले भनेका थिए ।

प्रहरीलाई छक्याउन माहिर मानिएका शोभराजलाई ‘द सर्पेन्ट’ पनि भनिन्थ्यो । उनले कम्तीमा २० जना पर्यटकको हत्या गरेको मानिन्छ । उनीमाथि भारतमा फ्रेन्च पर्यटक र थाइल्याण्डमा ६ जना महिलाको हत्या गरेको आरोप छ । भारतमा पक्राउ परेका उनी जेलबाट फरार भएका थिए ।