• जेष्ठ ७ २०८३, बिहीबार

अज्ञात समूहको गोली प्रहारबाट भारतीय नागरिक यादवको मृत्यु

पुष ८ २०७९, शुक्रबार

वीरगञ्ज । बारामा अज्ञात व्यक्तिले हानेको गोली लागेर गम्भिर घाईते भएका भारतीय नागरिकको मृत्यु भएको छ ।
भारतीय नागरिक ४५ वर्षीय शिवपुजन प्रसाद यादवको मृत्यु भएको हो । उनी भारत बिहार मोतिहारी जिल्ला छोडादानो पिप्रा गाउँ निवासी हुन् ।

कलैया बारियारपुर सडकखण्ड अन्तर्गत बाराको महागढीमाई नगरपालिका-२ स्थित भुतही पुल नजिकै चिया नास्ता पसलमा अज्ञात व्यक्तिले चलाएको गोली लागेर उनी गम्भिर घाईते भएका थिए ।

नम्बर नखुलेको दुई वटा मोटरसाइकलमा आएका पाँच जनाको समूहका एक जनाले साढे ५ बजेतिर गोली हानेर भागेका थिए । बाराको परवानीपुर स्थित एलएस न्युरो अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।

साँझ गोली लागेपछि पौने ६ बजे अस्पताल पुर्‍याइएको थियो । तर सवा ६ बजे अस्पतालले उनलाई मृत घोषित गरिदियो । ‘भारतीय नागरिक शिवपुजनको छातीमा गोली लागेको रहेछ, अस्पतालले मृत्यु भएको घोषणा गरिसक्यो ।’ उनले भने ‘चिया नास्ता खान पसलमा सँगै बसेका दुई जनालाई नियन्त्रणमा लिएका छौं ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ ।’ गोली हान्ने व्यक्तिहरु फरार छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । बरियारपुरमा आफन्तलाई भेटेर फर्केपछि नास्ता गर्ने क्रममा अज्ञात समूहले गोली हानेको मृतकका आफन्त रविन्द्रप्रसाद यादवले बताए ।