• जेष्ठ ७ २०८३, बिहीबार

एसपी रामेश्वर यादव भ्रष्टाचार मुद्दामा दोषी ठहर, दोषी ठहरसँगै जागिरबाट बर्खास्त

पुष ८ २०७९, शुक्रबार

काठमाडौं । सर्वोच्च अदालतबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका प्रहरी उपरीक्षक (एसपी) रामेश्वरप्रसाद यादव बर्खास्तीमा परेका छन्। यादव जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा कार्यरत थिए ।

सर्वोच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासले उनीहरुलाई दोषी ठहर गरको हो। भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतले दोषी ठहर गरेपछि एसपी यादव बर्खास्तीमा परेका हुन्। डीएसपी भएको बेला २०७० सालमा रुपन्देहीमा कार्यरत रहँदा गरेको आर्थिक अनियमितता गरेको भन्दै यादवविरुद्ध मुद्दा दर्ता भएको थियो।

सर्वोच्चले मुद्दा दायर भएको करिब साढे ७ वर्षमा फैसला गर्दै एसपी यादव र हवल्दार ढकबहादुर गुरुङलाई दोषी ठहर गरेको हो। २२औं पटकको पेसीमा भएको सुनुवाइपछि पुस ५ गते सर्वोच्चले विशेष अदालतको फैसला उल्टाउँदै यादव र गुरुङलाई दोषी ठहर गरेको हो। दोषी ठहर भएसँगै प्रहरी प्रधान कार्यालयले यादवलाई पुस ७ गते पदबाट बर्खास्त गरिसकेको छ ।

भ्रष्टाचारको कसुरमा दोषी ठहर भएसँगै उनीहरु पदबाट बर्खास्तीमा पर्नुका साथै जेल समेत जान सक्नेछन् । यद्यपी दोषी ठहर भएपनि सजाय निर्धारण भने हुन बाँकी छ ।

आर्थिक अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मुद्दा दर्ता गरेको थियो। आर्थिक अनियमितता र लागु औषध मुद्दामा पैसा लिएर मिलाएको पाइएको भन्दै अख्तियारले यादव र हवल्दार ढकबहादुर गुरुङविरुद्ध मुद्दा चलाएको थियो । अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेपछि उनीहरु दुबै जना निलम्बनमा परेका थिए।

उनले विशेष अदालतबाट सफाइ पाएपछि पुनः सेवामा फर्किएका थिए । विशेष अदालतले सफाइ दिने पनि सरकारी वकिल कार्यालय भने विशेष अदालतको फैसलामा चित्त नबुझाउँदै सर्वोच्च अदालत पुगेको थियो ।