काठमाडौं । संसदीय दलको निर्वाचनमा प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवाले झन्डै ७२ प्रतिशत मत पाएका छन् । संसदीय दलको निर्वाचनमा निकटतम् प्रतिस्पर्धी महामन्त्री गगन थापाले २८.०८ प्रतिशत मत पाउँदा देउवाले ७१.९१ प्रतिशत मत पाएका हुन् ।
प्राप्त मत परिणामले देउवा पार्टीका साथै संसदीय दलमा अत्यधिक बहुमतमा रहेको पुनः पुष्टि भएको छ । पार्टीको १४औं महाधिवेशनबाट देउवा भारी बहुमतका साथ विजयी भएका थिए । मंगलबार भएको संसदीय दलको निर्वाचनमा कुल ८९ मत खसेकामा देउवाले ६४ तथा थापाले २५ मत प्राप्त गरे ।
यससँगै निर्वाचन समितिले देउवालाई विजयी घोषणा गरेको छ । ‘नेपाली कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४) को धारा ५ बमोजिम संसदीय दलको नेता पदको लागि आज सम्पन्न निर्वाचनमा संसदीय दलको नेता पदका उम्मेदवार माननीय गगन कुमार थापाले जम्मा २५ मत प्राप्त गर्नु भएको र माननीय शेरबहादुर देउवाले जम्मा ६४ मत प्राप्त गर्नु भएकोले संसदीय दलको विधानको धारा ५ (४) बमोजिम दलका सम्पूर्ण सदस्य संख्याको ५० प्रतिशत भन्दा बढी सदस्यको मत माननीय शेर बहादुर देउवाले प्राप्त गर्नु भएकोले नेपाली कांग्रेस संसदीय दलको नेता पदमा निर्वाचित हुनु भएको घोषणा गरिन्छ’, निर्वाचन समितिका संयोजक भीष्मराज आङ्देम्बेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
संसदीय दलको नेतामा देउवालाई रामचन्द्र पौडेल लगायतले सहयोग गरेका थिए भने थापालाई शेखर कोइराला लगायतका नेताहरूको समर्थन थियो ।