• बैशाख २८ २०८३, सोमबार

होटल एम्बासडरमा गगन–शेखर समूहको निर्णायक भेला जारी

पुष ४ २०७९, सोमबार

काठमाडौं। कांग्रेस सभापति शेरबहादुर देउवाको इतर समूहले संसदीय दलको नेता छान्नुभन्दा ४८ घन्टाअघि निर्णायक छलफल थालेको छ ।

कांग्रेस महामन्त्री गगन थापाले देउवालाई संसदीय दल नेतामा चुनौती दिनेगरी तयारी थाले पनि अन्तिम घडीमा डा. शेखर कोइरालाले समेत नेतामा इच्छा देखाएपछि दुई नेताहरुबीचका छलफलहरु अनिर्णित थिए ।

उपसभापति धनराज गुरुङले आफ्नो पहलमा राजधानीको होटल एम्बासडरमा आज सोमबार छुट्टाछुट्टै बैठकहरु राखेका हुन् ।

बिहानैदेखि चलेका अलग अलग मिटिङका सुरु चरणमा थापा र कोइराला दुवैलाई सहभागी गराइएन । आकांक्षीहरुलाई बेग्लै राख्दा सहमति जुट्न सहज होला भन्ने हेतुले त्यस्तो उपाय लगाइएको सहभागी एक नेताले बताए ।

‘अहिले अर्को चरणको बैठक बसिरहेको छ, डा. साब र गगनजी दुवै सहभागी हुनुभएको छ,’ ती नेताले जानकारी दिए । सम्भवतः दुई मध्ये एक नेता आजै दलको नेता आकांक्षीबाट बाहिरिने सम्भावना रहेको उनले बताए ।

थापालाई दलको नेता प्रस्ताव गरेका अर्का महामन्त्री विश्वप्रकाश शर्मा भने यस छलफलमा सहभागी छैनन् । गुरुङसहित चन्द्र भण्डारी, बलबहादुर केसी, हृदयराम थानी लगायत नेता होटल एम्बासडरमा सहभागी छन् ।

महामन्त्री थापाका एक निकटस्थले संसदीय दल नेतामा थापाले धेरै अघि आकांक्षा राखेको, अर्का महामन्त्री शर्मासमेतले खुला समर्थन गरेको हुँदा उनले उम्मेदवारी छाड्ने सम्भावना शुन्यप्रायः रहेको बताए । ‘डा. शेखरले कहिल्यै यसबारे बोलेका थिएनन् , अचानक अन्तिम बेलामा बोले,’ उनले भने, ‘साथीहरुले यसतर्फ विचार गर्नुपर्छ ।’

बैठकमा सहभागी एक नेताका अनुसार अहिले शेखर कोइराला बोलिरहेका छन् । त्यसपछि गगन थापाले बोल्ने कार्यक्रम छ ।