काठमाडौं । नेपाली कांग्रेसले पुस ६ गते संसदीय दलको नेता चयनका लागि निर्वाचनको मिति तय गरेको छ । निर्वाचन समितिले सोमबार निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो ।
समितिका संयोजक भीष्मराज आङ्देम्बेका अनुसार पुस ४ गते दिउँसो २ बजेसम्ममा मतदाता नामावली प्रकाशन गरिनेछ । यसैगरी सोही दिनको साढे २ बजेसम्म नामावली उपर दावी विरोधका लागि समय दिनुका साथै अपराह्न ४ बजे अन्तिम नामावली प्रकाशन गरिनेछ ।
त्यसपछि पुस ५ गते बिहान ८ बजेदेखि १० बजेसम्म उम्मेदवारको लागि दरखास्त दिने समय दिइएको छ भने दिउँसो ३ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । यस्तै पुस ६ गते बिहान ८ देखि १० बजेसम्म मतदान हुनेछ ।
कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा, नेता शेखर कोइराला, महामन्त्री गगन थापाको उम्मेदवारी रहने सम्भावना छ । कांग्रेसको संस्थापन पक्षबाट देउवा निर्विकल्प उम्मेदवार बन्दा इतर पक्षबाट कोइराला र थापा प्रतिस्पर्धामा उत्रिने तयारीमा छन् ।
