काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि आह्वान गरेकी छन् ।
आज आईतबार उनले संविधानको धारा ७६(२)अनुसार सरकार गठन गर्न ७ दिनको समय दिइएको हो । त्यसकालागि पुस १० गते साँझ ५ बजेसम्मको म्याद दिइएको छ ।
संविधानको उक्त व्यवस्था अनुसार प्रतिनिधिसभामा दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रतिनिधिसभा सदस्यले प्रधानमन्त्री दावी गर्न सक्नेछ ।
भर्खरै सम्पन्न निर्वाचनबाट नेपाली कांग्रेसले प्रतिनिधिसभा तर्फ ८९ सिट जित्दै पहिलो दल बनेको छ भने नेकपा एमालेले ७८ सिटमा जित निकाल्दै दोस्रो दल बनेको छ । माओवादी केन्द्र ३२ सिटसहित तेस्रो स्थानमा छ ।
सरकार गठनका लागि सत्तारुढ दलभित्र आन्तरिक छलफल चलेपनि दलभित्र संसदीय निर्वाचन नभएका कारण औपचारिक छलफल हुन सकेको छैन् ।