काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले निर्वाचित नयाँ सरकार बने लगत्तै समाजवादी केन्द्र बनाउने बताएका छन् । दाहालले आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकमा नयाँ सरकार बने लगत्तै समाजवादी केन्द्र बन्ने दाबी गरेका हुन् ।
‘हामीले निर्वाचन अघि समाजवादी केन्द्र बनाउने समझदारी गरेका थियौं । अब तत्काल सरकार बनाउनमै केन्द्रित हुनुपर्नेछ’ दाहालले भने, ‘संघीयदेखि प्रदेशका सरकार निर्माण भएपछि समाजवादी केन्द्र बनाउने विषयमा बहस र छलफल हुन्छ ।’
यदि समाजवादी केन्द्र बनाएर एउटै पार्टी बनाउन नसकेपनि लुज फोरम जस्तो बनाएरै छाडिने दाहालले बताए । समाजवादी केन्द्र बनाउने विषयमा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, वामदेव गौतम नेतृत्वको नेकपा एकता महाधिवेशन लगायत पार्टी र समूह जोडेर बनाउने बताएको छ ।