काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव डा.बेदुराम भुसालले लोकतान्त्रिक-वाम गठबन्धनकै नेतृत्वमा नयाँ सरकार गठन हुने बताएका छन् ।
सो पार्टीको काठमाडौँ निर्वाचन क्षेत्र नं ९ ले आज यहाँ आयोजना गरेको कार्यक्रममा भुसालले निर्वाचन आयोगले परिणाम राष्ट्र प्रमुखलाई बुझाएपछिको अवस्थामा संवैधानिक व्यवस्था अनुसार एक महिनाभित्रमा सरकार गठन गर्नुपर्ने बताउँदै त्यसका लागि गठबन्धनभित्र गृहकार्यका साथै छलफल भइरहेको बताए ।
कम्युनिष्ट पार्टीलाई परिणाममुखी बनाउन लाग्नुपर्ने बताउँदै उनले पार्टीले देशभर सङ्गठन बिस्तार गर्दै गतिशील बनाउनुपर्नेमा जोड दिए । निर्वाचनमा पार्टीको काममा निरन्तर खटेका नेता तथा कार्यकर्तालाई धन्यवाद दिँदै उनले निर्वाचन परिणामबाट हतोत्साहित नहुन आग्रह गरे । पार्टीको शक्तिलाई पुनः गठित गरी आगामी चुनावको तयारीमा थप उत्साह र आशाका साथ अहिलेदेखि क्रियाशील हुन कार्यकर्तालाई उनले निर्देशन दिए ।
काठमाडौँ जिल्ला अध्यक्ष एलपी श्रेष्ठ, केन्द्रीय सदस्य रामेश्वर श्रेष्ठ, अनुशासन आयोगका केन्द्रीय सदस्य सीताराम नेपाल लगायतले चुनावी समीक्षा गर्दै आगामी दिनमा सशक्त कार्यक्रम सञ्चालन गर्नुपर्ने विचार व्यक्त गरे ।