• बैशाख २८ २०८३, सोमबार

कांग्रेस सांसदहरुलाई प्रधानमन्त्री देउवाको निर्देशन

पुष २ २०७९, शनिबार

काठमाडौं। प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न पार्टीबाट निर्वाचित प्रतिनिधिसभाका सांसदहरुलाई निर्देशन दिएका छन्।

प्रधानमन्त्री देउवाले पार्टीबाट निर्वाचित प्रतिनिधिसभाका सांसदहरुलाई शनिबार आफ्नै सरकारी निवास बालुवाटारमा बधाईँ दिँदै सो निर्देशन दिएका हुन्।

प्रतिनिधिसभामा निर्वाचित सबै सांसदहरुलाई प्रधानमन्त्री देउवाले संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देश गरेको सञ्चारमन्त्री समेत रहेका काँग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

उनले काँग्रेसकै नेतृत्वमा गठबन्धन सरकार बन्ने र त्यसमा सबै पक्षलाई समेटेर अघि बढ्न आफूहरुले चाहेको पनि स्पष्ट पारे ।

मन्त्री कार्कीले भने, ‘यो कार्यक्रममा सम्माननीय प्रधानमन्त्रीजीले संसदमा, प्रतिनिधिसभामा सबैलाई प्रभावकारी भूमिका निर्वाह गर्नका लागि निर्देश गर्नु भएको छ । अरु राष्ट्रिय राजनीतिको बारेमा गठबन्धन जारी छ । गठबन्धनलाई जनताले अनुमोदन गरेका छन । र, चाँडै नै गठबन्धनको बैठक बसेर अरु कुराहरुको निर्णय हुनेछ । र, त्यो निर्णयको जानकारी म तपाईहरुलाई गराउनेछु । तपाई अनुमान गर्न सक्नु हुन्छ । गठबन्धनको बैठक भईसकेपछि त्यसको निर्णयउ मात्रै मैले तपाईहरुलाई जानकारी गराउन सक्दछु । गठबन्धनकै नेतृत्व सरकार बन्छ । हामी सबैलाई समेटेर राष्ट्रिय एकताका साथ अघि बढन चाहन्छौं । ’

मन्त्री कार्कीले चाँडै नै सत्तारुढ गठबन्धन दलको बैठक बस्ने र सरकारको नेतृत्वलगायतका विषयमा ठोस छलफल हुने विश्वास समेत व्यक्त गरे । उनले सत्तारुढ गठबन्धनले निर्णय गरेपछि मात्रै सरकार गठनबारे आफूले केही भन्न सक्ने पनि बताए ।