• बैशाख २८ २०८३, सोमबार

भारतले न्यायालय भित्रैबाट नेपालको राष्ट्रपति बनाउन खोज्दैछ : बिजुक्छे

पुष २ २०७९, शनिबार

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भारतले न्यायालय भित्रैबाट राष्ट्रपति बनाउने षडयन्त्र गरिरहेको आरोप लगाएका छन् । बिजुक्छेले खिलराज रेग्मीलाई मन्त्रिपरिषदको अध्यक्ष बनाए जसरी नै भारतले राष्ट्रपति पनि न्यायालय भित्रैबाट बनाउने प्रयास गरिरहेको उल्लेख गर्दै त्यस विरुद्ध लड्न तयार रहन समेत आह्वान गरेका हुन् ।

भक्तपुर नगरपालिकाको ७३औँ स्थापना दिवसको अवसर पारेर शनिबार आयोजित एक कार्यक्रममा बोल्दै उनले भारतको छायाँमा मुलुकको कार्यपालिका, न्यायपालिका समेत जकडिएकाले त्यस विरुद्ध देशभक्त शक्तिहरूले सङ्घर्ष गर्नुपर्ने बताए । उनले प्रधानमन्त्री बनाउने र निर्वाचन जिताउने काम समेत हालसम्म भारतकै निणर्य अनुसार हुने गरेको जिकीर समेत गरे ।

अध्यक्ष बिजुक्छेले भने, ‘राजनीतिक रूपले पनि हाम्रो कसलाई चुनाव जिताउने र कसलाई प्रधानमन्त्री बनाउने भन्ने विषयमा पनि दिल्लीबाट निणर्य हुँदै आएको छ । कृषिमा हामी बारम्बार भनिरहेका छौँ-हामीलाई रासायनिक मलको कारखाना हुनुपर्छ भनेर । कारखाना बनाउन भनेपछि मन्त्रीहरू थर्कमान हुन्छन् इन्डियाले मान्दैन भनेर । हाम्रो देशमा मल कारखाना खोल्नका निम्ति इन्डियाले मान्नु पर्ने ? देशको स्थिति यस्तो छ । उद्योगधन्दाहरू बनाउने होइन भएको उद्योगधन्दाहरू निजीकरण गरियो इन्डियाको निर्देशनमा । जलस्रोतहरू हाम्रो हो तर त्यसको चाबी सबै इन्डियासँग छ । अहिले हामी सुन्छौँ-न्याय प्रशासनलाई राजनीतिबाट अलग राख्नुपर्ने तर न्याय प्रशासनका एक जनालाई जसरी प्रधानमन्त्री बनाइयो, अहिले राष्ट्रपति बनाउने कुरा चलिराखेको छ । यो हेर्दाखेरि सरल छ तर यो धेरै जटिल विषय हो । त्यसकारण कार्यपालिका र विधायन पालिका समेतमा इन्डियाको छायाँ छ ।’

अध्यक्ष बिजुक्छेले भारतले नेपालको जलस्रोत उपयोगको चाबी समेत आफ्नो हातमा लिएको, उद्योगधन्दाहरू निजीकरण गरेर आफ्नो इसारामा चलाएको भन्दै आक्रोश समेत व्यक्त गरे ।