काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकको नजिकको सरकार भएकाले स्थानीय तहको काम कारबाही जनमुखी, पारदर्शी र नागरिकप्रति जवाफदेही हुनुपर्ने बताएका छन् ।
ललितपुर महानगरपालिकाको १०४ औं स्थापना दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
नेपालको संविधानले स्थानीय तहलाई विकास, निर्माण र जनसेवाको आधार स्तम्भको रुपमा महत्वपूर्ण अधिकार र जिम्मेवारी प्रदान गरेकाले सोही अनुसारको काम हुनुपर्ने उनले उल्लेख गरे ।
उनले महानगरपालिकाले जनताको अपेक्षा अनुसार विश्वका अन्य मुलुकमा पनि नेपाल र नेपाली जनताको पहिचान हुने गरी आफ्नो कामलाई अघि बढाएको भन्दै प्रशंशा समेत गरे ।
प्रधानमन्त्री देउवाले नागरिकलाई खुशी बनाउने गरी सोही महानगरपालिकाको सम्पदाहरुको संरक्षण र सम्वर्द्धनको काम भईरहेको भन्दै त्यसलाई निरन्तरता दिएर अघि बढन थप क्रियाशील हुन आग्रह गरे। भौतिक पूर्वाधारहरुको विकास गर्दा नागरिकको जीवनलाई सहज हुने गरी अघि बढाउन पनि स्थानीय तहका जनप्रतिनिधिहरुले मिलेर काम गर्नुपर्ने उनको भनाइ थियो ।
महानगरपालिकाले १०४ औं स्थापना दिवसको अवसर पारेर ललितपुर महानगर गौरव पुरस्कार प्रदान गर्न सुरु गरेको छ ।
सोही कार्यक्रममा प्रधानमन्त्री देउवाले वरिष्ठ धातु मूर्तिकार राजकुमार शाक्य, वरिष्ठ साहित्यकार छत्रबहादुर कायस्थ, प्राज्ञ कालु कुमाले र ललितपुर महानगरपालिकाका पूर्वप्रमुख बुद्धिराज बज्राचार्यलाई सोही पुरस्कारबाट सम्मान गरेका हुन् ।
महानगरभित्रको कला, साहित्य र संस्कृतिको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउनु भएको व्यक्तिलाई जनही १ लाख नगदसहित पुरस्कारबाट सम्मान गरिएको ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले बताए ।
प्रधानमन्त्री देउवाले महानगरभित्र उत्कृष्ट करदाताको सम्मान संस्थागत रुपमा जेम्स स्कुल र व्यक्तिगत रुपमा टाँसी तेन्जिङलाई पुरस्कार प्रदान गरेका थिए ।