• बैशाख २८ २०८३, सोमबार

मंसिर ४ काे चुनावमा एमालेले धोका दिएको जसपाको निष्कर्ष

पुष १ २०७९, शुक्रबार

काठमाडौं । जनता समाजवादी पार्टी नेपालले बाराको क्षेत्र नम्बर २ को चुनावी समीक्षा गरेको छ । सो क्षेत्रबाट जसपाका कार्यकारिणी सदस्य रामसहाय यादव विजय भएका थिए ।

बाराको ४ नम्बर क्षेत्रमा बसेको समीक्षा बैठकमा एमालेबाट चुनावमा धोखा भएको निष्कर्ष निकालेको सो पार्टीका नेता रामसहाय यादवे बताए । दई पार्टीबीच गठबन्धन भएपनि एमालेले जसपालाई उल्लेख्य मत नदिएको गुनासो उनले गरे ।

‘एमालेले मतदान गरेको भए अझै बढी मतले चुनाव जित्न सक्थेँ, उनले भने, ‘एमालेले धोका दियो नै, आफ्नो पार्टीका कतिपय नेताले पनि धोखा दिएका छन् ।’ जसपाका नेता रामकिशोर यादव र कामेश्वर यादवले प्रतिनिधि सभामा स्वतन्त्र उम्मेदवारी दिएका थिए भने शारदा शंकर साह कलवारले पनि स्वतन्त्र उम्मेदवारी दिएका थिए । त्यसले गर्दा एमालेका मतदाता विभाजित भएर पार्टीलाई असर गरेको निष्कर्ष बैठकले निकालेको छ ।

रामसहाय यादवले १३ हजार ८२२ मत ल्याएर चुनाव जितेका थिए भने उनका प्रतिद्वन्द्वी सत्ता गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार १३ हजार ४६८ मत ल्याएका थिए । सोही पार्टीबाट बागी भएर स्वतन्त्र उम्मेदवारी दिएका रामकिशोर यादवले ११ हजार ४३ मत ल्याएका थिए । समीक्षा बैठकले प्रतिवेदन तयार गरेर केन्द्रमा पठाउने नेता यादवले बताए ।