• जेष्ठ १६ २०८३, शनिबार

नेपालमा अवैध डिजिटल गेमिङ धन्दा मौलाउँदै, नियन्त्रण गर्न कानुनी अभाव

मंसिर २९ २०७९, बिहीबार

काठमाडौं । नेपालमा विस्तारै अवैध डिजिटल गेमिङ धन्दा मौलाउँदै गएको छ । प्रविधिको विकाससँगै विधुतीय माध्यमद्वारा अवैध अनलाईन गेमिङ धन्दा मौलाउँदै गएको हो ।

गत भदौ ६ गते झापाको दमक नगरपालिकाका विभिन्न स्थानमा अनधिकृत रुपमा अनलाईन गेमिङमार्फत प्रतिबन्धित वनएक्स बेट एप्लिकेसनद्वारा पैसाको हारजित हुने गगरि सट्टाबाजी खेल खेल्ने र खेलाउने कार्यमा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ पर्नेहरूमा पद्मा ईन्टरनेशनल कन्सल्टेन्सीका सञ्चालकहरू दमक नगरपालिका–८ ठेगाना भएका २५ वर्षीय सत प्रकाश साह, सोही नगरपालिका–७ ठेगाना भएका २७ वर्षीय राजु श्रेष्ठ, योर्स कम्युनिकेशन एण्ड फोटो स्टुडियो सञ्चालक कमल गाउँपालिका–२ ठेगाना भएका ३० वर्षीय अरूण कार्की र ब्रिटिस आर्मी ट्रेनिङ सेन्टर दमकका सञ्चालक दमक नगरपालिका–८ ठेगाना भएका ३३ वर्षीय राजु लिम्बु रहेको प्रहरीले जनाएको थियो ।

वनएक्स बेट एप्लिकेसनद्वारा पैसाको हारजित हुने गरी खेल खेल्ने र उक्त खेल खेलाउन अनधिकृत रुपमा अन्य व्यक्तिहरुको नागरिकताबाट एनसेलको सिम प्रयोग गरी आवश्यक पर्ने रकम प्राप्त गर्न ईसेवामार्फत कारोबार गर्ने गरिएको गोप्य सूचनाको आधारमा प्रदेश–१ प्रहरी कार्यालय बिराटनगर आरआईटि शाखा, जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको संयुक्त टोलीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको थियो ।

उनीहरुमध्ये सत प्रकाश साहको साथबाट २ सय ४४ थान एनसेलका सिमहरु, विभिन्न कम्पनीका ९ थान मोबाइल, २ थान ल्यापटप, राजु श्रेष्ठको साथबाट ८० थान एनसेलका सिमहरु, १ थान मोवाइल, १ थान सिपियु, १ थान ल्यापटप, ४ थान स्ट्याम्प बरामद गरेको छ भने अरूण कार्कीको फोटो स्टुडियोबाट ९ थान मोबाइल, १ थान ल्यापटप तथा ५ थान स्ट्याम्प प्रहरीले बरामद गर्यो । त्यस्तै यहीँ महिनाको २६ गते काठमाडौंबाट अनलाईनमार्फत सट्टाबाजी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका नरदेवी बस्ने भारत राजस्थान प्रदेश चुरू सृजनगढ ठाना घर भएका ३२ वर्षीय पवन कुमार शर्मा र काठमाडौं बुढानिलकण्ठ नगरपालिका–८ कपन बस्ने पाल्पा रैनादेवी छहरा गाउँपालिका–४ घर भएका ३७ वर्षीय रूद्र प्रसाद पोखरेल रहेको प्रहरीले जनाएको छ ।

काठमाडौंका विभिन्न स्थानमा लुकिछिपी अनलाईन सट्टाबाजी भइरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले रुद्र प्रसाद पोखरेललाई काठमाडौं महानगरपालिका–१ जमलबाट शनिबार र पवन कुमार शर्मालाई काठमाडौं महानगरपालिका नरदेवीबाट आइतबार विभिन्न गेमहरुमा अनलाईन सट्टाबाजी गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको थियो । उनीहरूलाई थप अनुसन्धान एवम् कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ ।

त्यसगरी मंसिर २८ गते काठमाडौं, ‘रसियन बेटिङ एप्लिकेसन वन एक्स बेट’मार्फत सट्टाबाजी गराउने कार्यमा संलग्न रहेको अभियोगमा महोत्तरी, महोत्तरी गाउँपालिका–१ घर भई ललितपुर, ललितपुर महानगरपालिका–२ सानेपा बस्ने २० वर्षीय आदर्श ठाकुरलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

फिफा विश्वकप २०२२ लगायत विश्वमा संचालन हुने खेल तथा गतिविधिहरुमा सट्टाबाजी गर्न प्रयोग हुने उक्त एप्लिकेसनमार्फत सट्टाबाजी लगाउने रकम संकलन गर्ने गराउने कार्यमा एजेन्टहरू सक्रिय रहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

उनले विगत ८ महिनादेखि सट्टाबाजी गर्ने गरेको, बढी रकम संकलन र भुक्तानीको लोभमा विभिन्न व्यक्तिको नाममा डिजिटल वालेट एकाउन्ट कारोबार गरेको, विभिन्न व्यक्तिका नागरिकताको प्रतिलिपि समेत खरिद गरी सोबाट विभिन्न सेवा प्रदायकहरुको सिमकार्ड समेत खरिद गरेको, वालेटमा संकलन गरेको रकम आफ्नो खाता रहेको विभिन्न बैंकमा रकमान्तर गरेको र उनले नविल, सिद्दार्थ र एनआईसी एसिया बैंकमा क्रमश ६९ लाख ६ हजार ७ सय ७० रुपैयाँ, ४५ लाख ५३ हजार ५ सय २३ रुपैयाँ र ८८ लाख २४ हजार १ सय ५५ रुपैयाँ गरी जम्मा २ करोड २ लाख ८४ हजार ४ सय ४८ रुपैयाँ वालेटबाट रकमान्तरण गरेको अनुसन्धानको क्रममा खुल्न आएको थियो । उनलाई सट्टाबाजी गर्न गराउन नहुने कसूर अन्तर्गत थप अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।

आज काठमाडौं, बेटिङ एप्लिकेसन वन एक्स बेट लगायतका एप्समार्फत सट्टाबाजी गराई रकम संकलन गर्ने गराउने कार्यमा संलग्न लमजुङ सुन्दरबजार नगरपालिका–१ घर भई काठमाडौं महानगरपालिका–२ टोखा चण्डेश्वरी बस्ने २६ वर्षीय सुजन गौलीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

फिफा विश्वकप २०२२ लगायतका अन्तर्राष्ट्रिय खेल प्रतियोगितामा उक्त एप्समार्फत सट्टाबाजी गराई रकम संलग्न गर्ने गराउने कार्यमा एजेन्टहरू सक्रिय रहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले वन एक्स बेटका एजेन्टको रूपमा सक्रिय रहेका उनलाई काठमाडौं महानगरपालिका(२८ कमलपोखरीबाट पक्राउ गरेको हो ।

उनले वन एक्स बेटमा एजेन्टको रूपमा कार्य गर्ने गरेको, बढी रकम संकलन र भुक्तानीको लोभमा विभिन्न व्यक्तिको नाममा वन एक्स बेटको खाता खोली कारोबार गर्ने गरेको र इसेवा, आएमई पेए र खलती एप्स तथा विभिन्न बैंकिङ प्रणाली मार्फत २ करोड ३६ लाख ३३ हजार १ सय ३८ रुपैयाँ ३ पैसा तथा अन्य विभिन्न २६ वटा डिजिटल वालेट तथा बैंकिङ प्रणाली मार्फत ७ करोड ७२ लाख ८९ हजार ४६ रुपैयाँ २ पैसा बराबरको करोबार गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।

उनलाई सट्टाबाजी गर्न गराउन नहुने कसूर अन्तर्गत थप अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । उनीहरू उपर सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धका कसूर र लिखत सम्बन्धित कसूर अन्तर्गत देशका विभिन्न जिल्ला प्रशासन कार्यालय झापा र जिल्ला अदालत झापाबाट म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भइरहेको बताइएको छ । तथापि विद्युतीय कारोबार ऐन सम्बन्धि कानुनी अपूर्णताका कारण दोषीमाथि कारबाही फितलो हुने गरेकाे नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालय बताएकाे छ ।