• बैशाख २८ २०८३, सोमबार

लुम्बिनीको राजधानी देउखुरीबाट काम सुरु

मंसिर २८ २०७९, बुधबार

काठमाडौं। लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यकाको देउखुरीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको उद्घाटन गरिएको छ ।आज बुधवार प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको झण्डोत्तोलन गरेका हुन् ।

२०७७ असोज २० गते प्रदेश सभाको दुई तिहाइ बैठकले प्रदेशको नाम लुम्बिनी र राजधानी राप्ती उपत्यका तोक्ने निर्णय गरेको थियो ।

त्यो निर्णय कार्यान्वयन गर्दै वर्तमान सरकारले मुकाम बुटवलमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राजधानीमा स्थापना गरेको छ ।

राजधानीमा रहेको कार्यालयबाट कामकाजसमेत सुरु भएको छ । १३ मन्त्रालयमध्ये राजधानी परिसरभित्र छ वटा मन्त्रालय, मुख्यमन्त्री निवास, प्रमुख सचिवको निवाससमेत स्थापना गरिएको छ ।

अबको केही हप्ताभित्र महत्त्वपूर्ण मन्त्रालय, निर्देशनालय र विभाग राजधानी क्षेत्रमा स्थापना हुने प्रदेश सरकारले जनाएको छ ।

मुख्यमन्त्री कार्यालयको उद्घाटन गर्दैै प्रदेश प्रमुखले राजधानीले विकासमा पछाडि परेको देउखुरीलाई मात्रै नभइ समग्र प्रदेशलाई समृद्ध बनाउन मद्दत गर्ने बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सङ्घीयता कार्यान्वयनमा लुम्बिनी प्रदेशले समग्र देशकै नेतृत्व गरेको बताए।

राजधानी कार्यान्वयनसँगै प्रदेशको निसान छापमा राजधानीको नाम राप्ती उपत्यका देउखुरी लेखिने उनले जानकारी दिए ।

यही मङ्सिर १९ गते बुटवलबाट मुख्यमन्त्री कार्यालय राजधानी क्षेत्रमा सारिएको थियो ।