• बैशाख २८ २०८३, सोमबार

लामिछानेको सांसद पद खारेजीको माग गर्दै सर्वोच्चमा रिट दायर

मंसिर २८ २०७९, बुधबार

काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एंव नवनिर्वाचित प्रतिनिधि सभा सदस्य रवि लामिछानेको सांसद पद खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । रिटमा रवि लामिछानेको सांसद पद र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद खारेज गर्न माग गरिएको हो ।

सिन्धुली घर भएका युवराज सफलले संवैधानिक इजलासमा दायर गरेका हुन् । रवि लामिछाने, राष्ट्रिय स्वतन्त्र पार्टी, निर्वाचन आयोग, संघीय संसद र जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई रिटमा विपक्षी बनाइएको छ ।

चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सभापति लामिछानेले अमेरिकाको नागरिकता प्राप्त गरेपछि नेपाली नागरिकता कायम नरहेकोे अवस्थामा पनि पदाधिकारी रही दल दर्ता गरेको, उम्मेदवारी दिएको र निर्वाचित समेत भएको भन्दै रिटमा निर्वाचन आयोगले संविधान तथा ऐनको गम्भिर उल्लंघन गरेको दावी गरिएको छ ।

लामिछाने प्रतिनिधि सभा सदस्य हुन अयोग्य रहेको ठहर गरी सांसद पदबाट मुक्त गर्न निर्वाचन आयोगको नाममा परमादेशको आदेश माग गरिएको पनि रिटमा समावेश गरिएको छ ।

सर्वोच्चका प्रवक्ता सहरजिष्ट्रार विमल पौडेलले युवराज सफलको रिट संवैधानिक इजलासमा दर्ता भएको जानकारी दिए । बुधबार नै लामिछानेको नागरिकता विवादका सम्बन्धनमा अर्को रिट पनि संवैधानिक इजलासमा दर्ता भएको प्रवक्ता पौडेलले जानकारी दिए । रिट पुस ६ गतेको संवैधानिक इजलासमा पेसीमा राखिएको छ । नागरिकताका सम्बन्धनमा लामिछानेविरुद्ध गृहमन्त्रालयमा पनि उजुरी परेको थियो ।

उजुरीको सम्बन्धमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमार्फत जिल्ला प्रहरी परिसर काठमाडौंले छानबिन गरिरहेको छ ।