काठमाडौं । दाइजो नदिएको निउँमा श्रीमतीलाई कुटपिट गरि घर निकाला गरेको अभियोगमा जनकपुरधामबाट डा. पंकज चौधरी पक्राउ परेका छन् ।
३५ वर्षीय पंकजलाई मंगलबार साँझ प्रकाउ गरिएको महोत्तरी प्रहरीले जानकारी दिएको छ । बिहेको चार महिना पश्चात पंकज र नेहाबीच खटपट सुरु भएको थियो । पंकजले थप दाइजो काठमाडौंमा घर मागेपछि उनीहरुबीचको विवाद बढेको थियो ।
विवाहपछि श्रीमती नेहा चौधरीलाई कुटपिट गरेर मानसिक यातना दिएको र घरबाट निकाला गरेको अभियोग पंकजमाथि लगाइएको छ । नेहाले दिएको दाइजो विरुद्धको जाहेरीका आधारमा उनलाई पक्राउ गरेको डीएसपी सन्तोष पोखरेलले जानकारी दिए ।
यसअघि गत कार्तिक ४ गते नेहाले घरेलु हिंसा सम्बन्धी उजुरी जिल्ला प्रहरी कार्यालय महोत्तरीमा दर्ता गराएकी थिइन् । त्यस बखत पनि तीन दिन प्रहरीले पंकजलाई थुनेको थियो । तीन वर्षको प्रेम पश्चात गत फागुनमा महोत्तरीकै औरही नगरपालिका १ की नेहा र डा पंकजबीच सामाजिक परम्परा अनुसार विवाह भएको थियो । नगद र सुनचाँदी गरी १ करोड २५ लाख रुपैयाँ नेहाको परिवारले खर्च गरेका थिए ।