काठमाडौं । मधेशी आयोगले थारू र मुस्लिम समुदायलाई मधेशी समुदायको सूचीबाट हटाउने निणर्य गरेको छ । आयोगले मसिंर २० गते बैठक बसी नेपालमा मधेशी समुदायको थर सूचीकरण अध्ययन प्रतिवेदन-२०७८ बाट उपसमूह १ मा रहेको थारू र २ मा रहेको मुस्लिमलाई हटाउने निणर्य गरेको आयोगका अध्यक्ष विजयकुमार दत्तले बताए ।
मधेशी आयोगले गरेको निणर्य कार्यान्वयनको लागि आयोगकी उपसचिव सबिता डंगोलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र पठाएकी छन् ।
थारू र मुस्लिम समुदायका विभिन्न संघ-संगठनले थारू र मुस्लिम समुदायको छुट्टै पहिचान र सभ्यता रहेको र सो मधेशी समुदायसँग नमिल्ने भएकोले गर्दा मधेशी क्लस्टरमा आफूहरूलाई नराख्न मधेशी आयोगमा उजुरी दिएका थिए । आयोगका अध्यक्ष दत्तका अनुसार उक्त उजुरीमाथि आयोगले निणर्य लिँदै थारू र मुस्लिमलाई मधेशीबाट हटाउने निणर्य भएको हो ।
मधेशी आयोगले २०७८/०७९ को वार्षिक प्रतिवेदनमार्फत् राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष थारू र मुस्लिमसहित १४९ जातलाई मधेशीको रूपमा सिफारिस गरेको थियो ।