• बैशाख २८ २०८३, सोमबार

नीति निर्माणमा दलहरू एकजुट हुनुपर्ने महामन्त्री थापाको जिकिर

मंसिर २७ २०७९, मंगलवार

काठमाण्डौ। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले ऐन, नियम बनाउने क्रममा दलहरू विभाजित बन्न नहुने बताएका छन् ।

आज मङ्गलवार प्रेस लैङ्गिक नीतिसम्बन्धी एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले संसदमा रहेका दलहरू नीति, नियम निर्माणका बेलामा एक ठाउँमा उभिनुपर्ने बताएका हुन् ।

उनले आम नागरिकका समस्या समाधानका लागि नीति निर्माणको आवश्यकता रहेको भन्दै राजनीतिक दलले समस्या समाधानका लागि गहन अध्ययन र अनुसन्धान गरी एकत्रित हुनुपर्नेमा जोड दिए ।

महामन्त्री शर्माले सुरुवातबाट नै नीति निर्माणका लागि सम्बन्धित निकायले राजनीतिक दल र सरकारलाई आवश्यक सुझाव र परामर्श दिन आवश्यक रहेको पनि बताए।

उनले नेपालमा सुरुवाती चरणमा कुनै कुरा नराख्ने तर नीति, निर्माणको अन्तिम बेलामा आएर विभिन्न तर्क अघि सार्ने प्रवृत्तिका कारण कतिपय ऐन, कानुनको संशोधन र निर्माण हुन नसकेको बताए।

उनले भने, ‘संसदभित्र हामी कतिपय सन्दर्भमा राजनीतिक दलका हिसाबले विभाजित हुन्छौँ तर ऐन, नियम बनाउने क्रममा विभाजित हुँदैनौँ । नीति निर्माणका क्रममा सुरुदेखि नै हामीले इंगेज गर्दै गयौँ भने, के गर्न खोजेको हो भन्ने कुरा जानकारी गराउँदै गयौँ भने खोजेको कुरा पाउन सक्छौँ ।’

महामन्त्री थापाले सरकारी पक्षलाई सबै क्षेत्रले आफ्ना क्षेत्रका समस्या समाधानका लागि हुन सक्ने सम्भावित कुराको जानकारी समय–समयमा गराइरहने हो भने नीति निर्माण कर्ताले पनि त्यहीअनुसार निर्माणका कुरामा आफ्ना धारणा थप सशक्त र गम्भीरताका साथ उठान गर्नसक्ने बताए।

महामन्त्री थापाले आधारभूत स्वतन्त्रता थप सङ्कुचित भए समुन्नतिको मापनमा पछि पर्ने बताए।