काठमाडौं । जाजरकोटमा भएको जीप दुर्घटनामा परि ८ जनाको मृत्यु भएको छ । यस्तै घटनामा दुई जना गम्भीर भएको प्रहरीले जनाएको छ । सोमबार दिउँसो साढे ४ बजे छेडागाड नगरपालिका-४ स्थित खातिजेवाबाट सोही नगरपालिकाको वडा नम्बर ५ मा रहेको नगर अस्पतालमा उपचारको लागि बिरामी लिएर जाँदै गरेको जीप दुर्घटना भएको हो ।
चालक मान बहादुर रावतले चलाएको कर्णाली प्रदेश ०२-०० १ च ०४२९ नम्बरको बोलेरो जीप भिरबाटी भन्ने स्थानमा आफै अनियन्त्रित भएर २०० मिटर तल खसेको थियो ।
अहिले घटनास्थलमा इलाका प्रहरी कार्यालय दशेराबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा ५ जना र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको कमाण्डमा १० जनाको टोली उद्दारमा खटिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
घटनास्थल इलाका प्रहरी कार्यालय दशेराबाट करिब ८ किलोमिटर पूर्व र जिल्ला प्रहरी कार्यालयबाट ४६ किलोमिटर पश्चिम रहेको छ । प्रहरीले घटनामा मृतकको सनाखत हुन बाँकी रहेको जनाएको छ ।