काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगकी पूर्वआयुक्त मोहना अन्सारीले टिकापुर घटनाको योजनाकार रेशम चौधरी हुन् भन्ने एकोहोरो भाष्य निर्माण गरिएको आरोप लगाएकी छन् । घटनाको दिन चौधरी टिकापुरमा नरहेको बताउँदै सो घटना राज्यसत्तामा भएकाहरूको चकालीपूणर् रूपमा घटाइएको दाबी समेत गरेकी छन् ।
लाल आयोगले छानबिन गरेर तयार पारेको प्रतिवेदन सार्वजनिक नगरेर राज्यसत्ताले जनतालाई अँध्यारोमा राखेको उनको भनाइ छ । थारु र पहाडीबीच खडा गरिएको सदाको खाडल पुर्न राज्य हच्किरहेको उनले बताएकी छन् ।
सामाजिक सञ्जालमा उनले लेखेकी छन्,‘टिकापुर घटना राज्यसत्तामा भएकाहरूको चकालीपूर्ण रूपमा घटाइएको घटना थियो । त्यो घटना राज्यसत्ताबाट घटाइएको थिएन भने लाल आयोगले मेहनत साथ छानबिन गरेर तयार पारेको प्रतिवेदन सार्वजनिक गरेर जनतालाई अँध्यारोमा राख्ने र थारु र पहाडीबीच खडा गरिएको सदाको खाडल पुर्न राज्य किन हच्की रहेको छ ? आम जनताको बुझाइमा रेशम चौधरी टिकापुर घट्नाको एकोहोरो योजनाकार हो भन्ने भाष्य निर्माण गरिएको छ । थारुहरू आन्दोलित थिए, घट्नाको दिन रेशम चौधरी टिकापुरमा छैनन्, तिनी घट्नाको केही दिन अघि नेपालगञ्जबाट काठमाडौँ उडिसकेका थिए । तिनलाई एपीएफको गाडीले नेपालगञ्ज एयरपोर्टसम्म पुर्याएको थियो ।
रेशमको पत्नी काखको छोरी र बुवा रातभरि मकैबारीमा लुकेर ज्यान जोगाई देऊ भनेर गुहार माग्दै थिए र मकैबारीबाट फूलबारी एफएम रिसोर्ट जलेको हेरिरहेका थिए ? आफ्नै सन्तानलाई जोगाउन नसक्ने अवस्थामा रहेको रेशम चौधरीले घटना घटायो भन्ने समाचार यत्रतत्र फैलिसकेको थियो । मारिनु भएका उच्च प्रहरी अधिकारी एवं प्रहरी जवानहरू किन एक्लिए ? त्यहाँ नजिकै सुरक्षाकर्मीहरूको ठुलै दस्ता थियो तर प्रहरी कमान्डमा निहत्था टोली किन खटाइयो ? सुरक्षा बैठकमा सिडिओ, सेना, एपीएफ, नेपाल प्रहरी र गुप्तचरका अधिकारीहरू बस्छन् केका लागि हुन्छ यस्ता सुरक्षा बैठक ? के सुरक्षाको कारणले संवेदनशील मानिएको ठाउँमा हतियारविहीन निहत्था टोलीको नेतृत्व गर्न उच्च प्रहरी खटाउन कसको निर्देशन थियो ? जनतालाई जवाफ कसले दिन्छ ? सानो बालक मारिएको बुलेटका गोली र वरिपरि रहेका गोलीका खोका कस्का थिए ? ब्यालेष्टिक टेस्टका आधारमा आरोपित बनाउने हो न कि भनेको सुनेको भरमा ।’ ‘थारुहरूको स्वर मध्यम छ भनेर सधैँ उच्च वर्गले आजीवन आरोपित बनाएर अपराधी करार गर्न पाउने जन्मजात प्रमाणपत्र लिएर बसेको राज्यसत्ता र तिनका प्रोत्साहनकर्ताहरुले एकोहरो बोलिरहने र पत्याइरहने किन र केका लागि ? अध्यादेश राजनीतिक ईच्छा पूरा गर्न पटक पटक ल्याइयो र आउने दिनमा पनि सरकारको नेतृत्व गर्ने दलले ल्याउने नै छ तर के टिकापुरको घाउ पुर्नु पर्दैन ? के जसले सद्भावका लागि उच्च स्वरमा बोल्छ त्यसले टिकापुरको प्रतिवेदन सार्वजनिक गर ? किन भन्न सक्दैन । हामी किन यो फाटोलाई लम्ब्याउँदै छौँ किन…
थारुहरूलाई किन सदा झैँ अपराधीको पगरी गुथ्दैछौ ? किन र कसरी कुनै एक समुदायको सिर निहुरिंदा राज्यको शिर कसरी उठ्छ ? अध्यादेशको राजनीतिले कसैको भलो गर्दैन सदाको समाधानतर्फ सोच्नपर्छ ।’