• बैशाख २८ २०८३, सोमबार

गगन थापाले भने,‘बन्दी रिहाइका लागि अध्यादेश ल्याउनु गलत हो’

मंसिर २६ २०७९, सोमबार

काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले बन्दी रिहाइका लागि ल्याइएको अध्यादेश तत्काल फिर्ता लिनुपर्ने बताएका छन् ।
सरकारले गरेको निणर्यको भारी पार्टीले बोक्न नसक्ने बताउँदै उनले भनेका छन्, “अध्यादेश कानुनी, राजनीतिक र नैतिक हिसावले समेत गलत छ । यो असंवैधानिक र अलोकतान्त्रिक र संसदीय व्यवस्थाको विपरीत छ ।”
सामाजिक सञ्जालमा लेख्दै उनले यस्तो बताएका हुन् ।

यस्तो छ थापाले लेखेको धारणा-
‘सरकारको अध्यादेश ल्याउने निणर्यको विषय र प्रक्रियाका बारेमा महामन्त्री विश्वप्रकाश शर्माले राख्नुभएको धारणा शतप्रतिशत सही छ । यो मेरो वा विश्वप्रकाश शर्माको मात्र होइन नेपाली कांग्रेस पार्टीकै धारणा हो, मान्यता हो । किनकी विगतमा पटक पटक यसरी अध्यादेश ल्याउनु सम्पूणर् रूपमा गलत हो भनेर पार्टीले निणर्य गरिसकेको छ । अहिले पार्टीभित्र यो अध्यादेशका बारेमा न त कुनै छलफल भएको छ, न कुनै निणर्य नै भएको छ । त्यसैले विगतमा पार्टीको अडान जे थियो आज पनि त्यही नै छ । अतः सरकारले गरेको यो गलत निणर्यको भारी पार्टीले बोक्न सक्दैन । यो अध्यादेशको सम्बन्धमा नेपाली कांग्रेसको धारणा स्पष्ट छः
-अध्यादेश कानूनी, राजनीतिक र नैतिक हिसावले समेत गलत छ । यो असंवैधानिक र अलोकतान्त्रिक र संसदीय व्यवस्थाको मर्म विपरित छ ।
-अहिलेको सरकार कामचलाउ हो, यसले दुरगामी महत्वको निणर्य गर्न मिल्दैन । अध्यादेश ल्याउन कानूनी र संवैधानिक हैसियत यो सरकारलाई छैन। यसको विषय र मनसाय गलत छ ।
-अदालतमा विचाराधीन मुद्दालाई सरकारले फिर्ता लिन मिल्दैन । यो राजनीतिक विषय हो भन्ने लागेर आवश्यकता देखे नयाँ संसदले कानून बनाएर प्रक्रिया अगाडी बढाउन सक्छ ।
-अदालत र संसदको क्षेत्राधिकारको विषयमा कार्यपालिकाले हस्तक्षेप गरेको छ, त्यसैले सरकारले तत्काल अध्यादेश फिर्ता लिनुपर्छ ।