• बैशाख २८ २०८३, सोमबार

चुनाव हारेकी कुन्तीको अगुवाईमा नगरपालिकामा तालाबन्दी, यस्तो छ कारण

मंसिर २५ २०७९, आईतवार

काठमाडौं । राप्रपा नेतृ कुन्तीकुमारी पोखरेलको नेतृत्वमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा तालाबन्दी गरिएको छ । नगरपालिका कार्यालय अघिल्तिरको सडक पनि वर्षौंदेखि नबनेको र दबाब पनि दिन नसकेको भन्दै थलीस्थित कार्यालयमा तालाबन्दी गरिएको हो ।
मेयर उपेन्द्र कार्की र वडाध्यक्ष शंकर पाण्डेको विरोधमा तालाबन्दी गरिएको हो । पोखरेलले वर्षौंदेखिको समस्या समाधान गर्न नगरपालिकाले पहल नगरेको भन्दै तालाबन्दीमा उत्रिनुपरेको बताएकी छन् । उनले नगरपालिकाले सडक विभागलाई दबाब पनि दिन नसकेको हुँदा स्थानीय विरोधमा उत्रिएको बताएकी छन् । स्थानीयले उक्त सडक निर्माणको माग गर्दै केहीदिनदेखि बन्दसमेत गराएका छन् ।

“कति संरक्षण गर्छौ भ्रष्टहरुलाई ?,” उनको प्रश्न छ, “काम नगर्ने ठेकेदारसँग गरिएको सम्झौता किन रद्ध गर्न सकिएन ? मेयर र वडाध्यक्ष भनेको स्थानीयको समस्या समाधानका लागि यहीँका स्थानीयले चुनेर पठाएको होइन र ? किन हामी सँगसँगै हिँड्न सक्नुहुन्न ? काम नगरेको ठेकेदारलाई नगरेको भन्न किन सक्नुहुन्न ? नगरपालिकाको क्षेत्राधिकारभित्र पर्दैन भने सडक विभाग जाउँ भन्दा स्थानीयसँग जान जनप्रतिनिधि किन नमान्ने ?” उनले सडक नबनेसम्म आन्दोलन जारी रहने बताएकी छन् । कुन्ती भर्खर सम्पन्न संसदीय निर्वाचनमा राप्रपाबाट सो क्षेत्रमा चुनाव लडेर पराजीत भएकी थिइन् ।