काठमाडौं । यहीँ मंसिर महिनाको गत ४ गते देशैभर एकै चरणमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा प्रदेशसभातर्फ महिलाहरुको प्रतिनिधित्व न्यून हुने भएको छ ।
देशका सातैवटा प्रदेशमा दलहरुले निर्वाचनका लागि महिलालाई उम्मेदवारी सिफारिस गरे पनि अधिकांशले निर्वाचन जित्न नसकेपछि प्रदेशसभामा पुरुषको तुलनामा उनीहरुको प्रतिनिधित्व न्यून हुने भएको हो ।
प्रदेश–१ को झापा निर्वाचन क्षेत्र नम्बर–१ (ख)बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सविना बजगाई निर्वाचित भएकी छन् । बाँकी जिल्लाका निर्वाचन क्षेत्रमा शीर्ष दलले महिला उम्मेदवार खडा नगरे पनि अन्य दलका महिला उम्मेदवारले विजयी हासिल गर्न सकेनन् ।
त्यस्तै मधेस प्रदेश अन्तर्गत महोत्तरी जिल्लाको निर्वाचन क्षेत्र नम्बर–१ (क) मा नेकपा (एमाले)की सारदा देवी थापा निर्वाचित भएकी छन् । महोत्तरीकै निर्वाचन क्षेत्र नम्बर–२ (ख)मा स्वतन्त्रकी सुरिता कुमारी साह विजयी भएकी छन् ।
महोत्तरी निर्वाचन क्षेत्र नम्बर–३ (ख)मा लोकतान्त्रिक समाजवादी पार्टी नेपालकी रानी कुमारी तिवारी निर्वाचित भएकी छन् भने अन्य निर्वाचन क्षेत्रमा दलका महिला उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिए पनि विजयी भने हुन सकेनन् ।
सर्लाही निर्वाचन क्षेत्र नम्बर–१ (ख)मा नेकपा (एकीकृत समाजवादी)की वेची लुङ्गेली निर्वाचित भएकी छन् । यस जिल्लाका अन्य निर्वाचन क्षेत्रमा भने महिला प्रतिस्पर्धी भए पनि निर्वाचित हुन सकेनन् ।
बागमती प्रदेशको सिन्धुपालञ्चोक जिल्लाको निर्वाचन क्षेत्र नम्बर–१ (क)मा नेपाली कांग्रेसकी मसिना खड्का विजयी भएकी छन् भने अन्य निर्वाचन क्षेत्रबाट महिला उम्मेदवार निर्वाचित हुन सकेनन् । काठमाडौं निर्वाचन क्षेत्र नम्बर–६ (क)बाट नेपाली कांग्रेसकी हरिप्रभा खड्गी निर्वाचित भएकी छन् ।
त्यस्तै काठमाडौंकै निर्वाचन क्षेत्र नम्बर–१० (ख)मा नेकपा (एकीकृत समाजवादी)की रमा आले मगर निर्वाचित भएकी छन् भने अन्य निर्वाचन क्षेत्रमा महिला उम्मेदवार विजयी हुन सकेनन् ।
मकवानपुर निर्वाचन क्षेत्र नम्बर–२ (क)मा नेकपा (माओवादी केन्द्र)की कुमारी मुक्तान विजयी भएकी छन् भने अन्य निर्वाचन क्षेत्रबाट महिला उम्मेदवार विजयी हुन सकेनन् । नुवाकोट निर्वाचन क्षेत्र नम्बर–१ (क)मा माओवादी केन्द्रकी राधिका तामाङ निर्वाचित भएकी छन् भने अन्य निर्वाचन क्षेत्रबाट महिला उम्मेदवार निर्वाचित हुन सकेनन् ।
गण्डकी प्रदेश अन्तर्गत पूर्वी नवलपरासी जिल्लाको निर्वाचन क्षेत्र नम्बर–२ (ख)मा नेकपा (एमाले)की पदमा जिसी निर्वाचित भएकी छन् । त्यस्तै स्याङ्जा निर्वाचन क्षेत्र नम्बर–१ (क)मा एमालेकी उम्मेदवार सीता कुमारी सुन्दास निर्वाचित भएकी छन् । कास्की निर्वाचन क्षेत्र नम्बर–२ (ख)मा नेपाली कांग्रेसकी विन्दु कुमारी थापा निर्वाचित भईन् भने बाँकी जिल्लाका निर्वाचन क्षेत्रमा भने महिला उम्मेदवार विजयी भएनन् ।
लुम्बिनी प्रदेश अन्तर्गत बाँके निर्वाचन क्षेत्र नम्बर–१ (क)मा नेकपा (माओवादी केन्द्र)की कृष्णा जिसी निर्वाचित भएकी छन् । बाँकी जिल्लाका निर्वाचन क्षेत्रमा कुनै पनि महिला उम्मेदवार विजयी हुन सकेनन् । त्यस्तै कर्णाली र सुदूरपश्चि प्रदेशमा कुनै पनि दलका महिला उम्मेदवारहरुले विजयी हासिल गर्न सकेनन् ।
प्रदेशसभातर्फ शीर्ष दलहरु नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा)ले महिला उम्मेदवारलाई पुरुष उम्मेदवारको दाजोमा कम उम्मेदवार उठाए पनि अन्य साना दलहरुबाट धेरै उम्मेदवार थिए । तथापि उनीहरुले प्रायः अत्यन्तै न्यून संख्यामा मात्रै विजयी हासिल गरेका छन् ।
यस सन्दर्भमा गोल खबरसँगको संक्षिप्त संवादमा महिला अधिकारकर्मी जस्मिन ओझा भन्छिन्, ‘राजनीतिक दलमा नेतृत्वदायी भूमिकामा निर्वाह गर्ने महिलाको संख्या न्यून छ । विस्तारै नेतृत्वमा आउनेक्रम जारी छ । तथापि कुनै पनि राजनीतिक दलले महिलालाई राजनीतिमा प्रयोग गरेको मात्र पाइन्छ । यदि कोही नेतृत्वदायी भूमिकामा छ भने उ आफ्नो क्षमता र बोद्धिकताले त्यो भूमिकामा छ । दलका नेताले महिलालाई तपाईं भविष्यमा केही गर्न सक्नुहुन्छ । त्यसका लागि तपाईं योग्य हो भनेर नेतृत्व सुम्पिएको देखिएको छैन । महिला आफैले अब संघर्ष गरेर नेतृत्वमा पुग्न जरुरी छ ।’
यसपटकको निर्वाचनमा महिला पराजय हुनुमा महिलाको मात्रै दोष नहुने राजनीतिक विश्लेषक श्याम श्रेष्ठ तर्क गछन् । उनी भन्छन्, ‘महिला उम्मेदवारलाई दलले आफ्नो संगठनको बाहुल्यता र जनमत कम भएको क्षेत्रमा उम्मेदवार बनाउने गरेको पाईन्छ । यसले महिला उम्मेदवारलाई अपमान मात्रै होइन, कमजोर सावित गरेको देखिन्छ । यसर्थ राजनीतिक दलमा आवद्ध महिलाले आफू निर्वाचनमा उम्मेदवार हुनुपूर्व सांगठनिक संरचना, जनआधार बुझ्न जरुरी छ । त्यसका लागि महिला स्वयम् आफ्नो क्षेत्रमा निर्वाचन अगावै पुग्नुपर्छ । महिलाले पनि यस विषयमा पार्टीभित्र संघर्ष, आफ्नो क्षमता अभिवृद्धि गर्न जरुरी छ ।’
प्रतिनिधिसभाको निर्वाचनमा दाङ-२ मा नेकपा (माओवादी केन्द्र)बाट विजयी रेखा शर्मा भन्छिन्, ‘महिलाले निर्वाचन जित्नु आफैमा चुनौती र ठूलो सफलता हो । यसका लागि पार्टीभित्रको योग्दान, व्यक्तिगत क्षमता र जनाधार अनिवार्य चाहिन्छ । यसका लागि पार्टी घरपरिवार, समाजप्रति आफू उत्तिकै बफादार हुनुपर्छ । राजनीति पेशा होइन, सेवा हो । पार्टी, घरपरिवार समाज सबैको सकारात्मक हौसला हुनु पनि आवश्यक छ । तथापि यी कुराको समर्थन हुँदाहुँदै पनि महिलाका लागि कठिनाइ छन् । आफूले मुकाविला गर्न तयार हुनुपर्छ ।’