• बैशाख २८ २०८३, सोमबार

नयाँ सरकार गठन गर्न संसदीय अंकगणितको गठजोडमै देउवा–ओलीलाई सकस

मंसिर २५ २०७९, आईतवार

काठमाडौं । भर्खरै सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतरिणाम सार्वजनिक भएको साता दिन बित्नै लाग्दा पनि ठूला दलहरूले नयाँ सरकार गठनलाई आकार दिन सकेका छैनन् । बरु उनीहरू कस्तो र कसरी सरकार गठन गर्ने भन्नेमै अलमलमा छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुनै पनि राजनीतिक दलले बहुमत ल्याउन सकेनन् । जसकारण गठबन्धनको सरकार बन्ने निश्चित छ । प्रचलित संविधानको धारा ७६(२) अनुसार सरकार गठन हुने भएको छ । तर, हालसम्म कुनै पनि दलले सरकार गठनका लागि आवश्यक पर्ने साधारण बहुमत १३८ सांसदको समर्थन जुटाउन सकेका छैनन् ।

सत्तारुढ गठबन्धनभित्र सरकार गठनको विषयमा एकमत छैन । गठबन्धनको नेतृत्व गरेको नेपाली कांग्रेसभित्रै नयाँ सरकारको नेतृत्व लिने विषयमा पनि एकमत छैन । नेकपा (माओवादी केन्द्र) नयाँ सरकार गठनमा पर्ख र हेरको अवस्थामा छ ।

सरकारको नेतृत्व गर्न जुन दलले दिन्छ, उसैलाई समर्थन गरेर आलोपालो सरकार गठनमा जाने माओवादी केन्द्रको तयारी छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्ने दाउमा छन् । त्यसका लागि उनले आफ्नो इच्छा जाहेर गरिसकेका छन् ।

नेकपा (एकीकृत समाजवादी) पनि कांग्रेस, माओवादी केन्द्रसहित गठबन्धन आवद्ध दलको निर्णयलाई पर्खेको छ भने केही आफ्ना राजनीतिक स्वार्थ पूरा गर्नेलाई समर्थन गर्न तयारीमा छ ।

८९ सिट जितेको कांग्रेसले सुरुमा सरकारको नेतृत्व गर्न चाहेको छ । उसले सरकार गठनका लागि गठबन्धन आवद्ध दलकै समर्थन जुटाउन सकिरहेको छैन । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस पार्टी सभापति शेरबहादुर देउवासहित कांग्रेसमा प्रधानमन्त्रीमा अरु पनि आकांक्षी देखिएका छन् ।

संसदीय दल गठन र नेता चयनपछि सरकार गठनका लागि गति दिने तयारीमा कांग्रेस देखिन्छ । बहुमत नभएकाले अरु दलको सहारामा सरकार गठन गर्नुपर्ने भएकाले नेताहरूले खासै सक्रियता नदेखाएका हुनसक्ने बताईन्छ ।

कांग्रेसमा संसदीय दलको नेता जो बन्छ उसैले प्रधानमन्त्रीमा दाबी गर्ने हो । अहिलेको अवस्थामा देउवा पुरानै संसदीय दलको नेता हुन् । दलको नेताका लागि पार्टीका महामन्त्री गगनकुमार थापाले पनि तयारी गरेकाले को बन्छ भन्ने ग्यारेन्टी छैन ।

माओवादी केन्द्र आफ्नो माग र स्वार्थ पूरा गर्नेलाई समर्थन गर्नेगरी दलीय छलफलमा छ । उसले आफू अनुकूलको सरकार गठनका लागि विकल्प अघि सारेको छ । त्यसैले अहिलेकै गठबन्धनको सरकार बन्छ भनेर भन्न सकिने अवस्थासमेत छैन । २० सिट रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार गठनबारे केही नबोलेकाले पनि नेताहरू सरकार गठनमा उदासीन बनेका हुन् ।

संसद्को पहिलो दल कांग्रेसले सरकार गठनका लागि समर्थन जुटाउन नसकिरहेका बेला ७८ सिटसहित दोस्रो दल बनेको एमालेले पनि सरकार गठनका लागि आवश्यक समर्थन जुटाउन सकेको छैन । सत्तारुढ गठबन्धनको निर्णय र अवस्थालाई हेरेर एमालेले सरकार गठनका विषयमा निर्णय लिने तयारीमा छ ।

आवश्यक परेको खण्डमा सरकारको नेतृत्व लिन आफ्नो पार्टी तयार रहेको नेकपा (एमाले) अध्यक्ष केपी ओलीले सार्वजनिक रूपमै बोलिसकेका छन् । तर, उनले पनि सरकार गठनका लागि आवश्यक पर्ने १३८ सांसदको समर्थन जुटाउन भने सकेका छैनन् । ७८ सिट रहेको एमालेलाई सरकार गठनका लागि थप ६० सांसदको समर्थन आवश्यक पर्छ । जुन जुटाउन ओलीलाई निकै कठिन छ ।

माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी (जसपा) नेपाललाई साथ लिए मात्र ओली प्रधानमन्त्री बन्न सक्छन् । तर, जसपा अध्यक्ष उपेन्द्र यादवले एमालेसँगको गठबन्धन तोडेको बताइसकेका छन् ।