काठमाडौं । गोरखाको सिरानचोक गाउँपालिका-२ पाँडेवेशीस्थित चम्पावती जलविद्युत आयोजनाको कार्यालयमा स्थानीयले आगजनी गरेका छन् ।
स्टिमेट अनुसार काम नभएको भन्दै लम्जुङको राइनास नगरपालिकाका स्थानीयले शनिबार दिउँसो कार्यालयमा आगजनी गरेका हुन् ।
आगजनीबाट कार्यालय परिसरमा रहेको मिनी ट्रक र मोटरसाइकल पूणर्रुपमा क्षति भएको छ । जेसिभीमा आशिंक क्षति पुगेको छ ।
जलविद्युतको कार्यालय रहेको दुईवटा अस्थायी टहरामा समेत स्थानीयले आगजनी गरेको जिल्ला प्रहरी प्रमुख एसपी केदार खनालले बताए । ‘हाइड्रोले पानी निकास हुने ठाउँ स्टिमेटमा भएको भन्दा दुईसय मिटर तल लगेछ,’ उनले भने, ‘सिंचाइ हुने कुलाको बाँधभन्दा तल पानी निस्केपछि स्थानीयले विरोध गरेका रहेछन् ।’
पाँच सयभन्दा बढीको संख्यामा आएका राइनास नगरपालिकाका बासिन्दाले कार्यालयमा रहेको फर्निचरमा समेत तोडफोड गरेका छन् । सो क्षेत्रमा अहिले सुरक्षा व्यवस्था थप कडा पारिएको उनले जानकारी दिए ।