• बैशाख २८ २०८३, सोमबार

राप्रपाद्धारा समानुपातिक सूची गोप्य राखियो

मंसिर २४ २०७९, शनिबार

काठमाडौं। राप्रपाले समानुपातिक सांसदको नाम गोप्य राखेको छ । समानुपातिक सांसदको सूचीका विषयमा विवाद भएपछि अध्यक्ष राजेन्द्र लिङ्देनले सूची गोप्य राख्दै निर्वाचन आयोगमा पठाएका हुन् । ‘सबै अग्रज र साथीहरूको सल्लाहमा मैले समानुपातिकको सूची तय गरेर आयोगमा इमेल गरिदिएको छ ।

सूची पछि थाहा भइहाल्छ’, लिङ्देनले नेताहरूलाई भनेको भनाइ उदृत गर्दै एक नेताले भने, ‘खासगरी पूर्वअध्यक्ष प्रकाशचन्द्र लोहनी र बुद्धिमान तामाङमध्ये प्रतिनिधिसभाको समानुपातिकमा कसलाई बनाउने भन्ने थियो । त्यो अध्यक्षले निर्णय लिएर पठाउनुभएको छ ।’

उनका अनुसार बागमती प्रदेशमा पनि महामन्त्री भुवन पाठकको नामको विषयमा के गर्ने भन्नेमा सहमति जुटेको थिएन। यद्यपि अध्यक्षले राय लिँदा उनको नाम लैजान सुझाव आएको बताइएको छ । अन्य नामका विषयमा भने समानुपातिकको बन्दसूचीमा रहेको रोलक्रममा खासै तलमाथि नभएको बताइएको छ ।

नेकपा एमाले, नेपाली कांग्रेस लगायतका दलले बैठकबाट निर्णय गरेर सूची नै सार्वजनिक गरेपनि राप्रपाले भने गोप्य रुपमा सूची पठाएको हो । उसो त पार्टी कार्यालयमा दिनभर होहल्ला समेत भएको थियो । आकांक्षीका समर्थकले आफ्नो नेतालाई समानुपातिकमा समेट्न दवाव दिँदै होहल्ला गरेका हुन् ।