काठमाडौं । कांग्रेस विजयकुमार गच्छदारले नेपाली कांग्रेस र एमाले मिलेर सरकार गठन गर्नुपर्नेमा जोड दिएका छन् । विराटनगरमा आज पत्रकार सम्मेलन गर्दै उनले अहिलेको जनादेशले देश अस्थिरतातिर जाने हो कि भन्ने चिन्ता लागेको भन्दै दुई ठुला पार्टी मिलेर देशलाई अस्थिरतामा जानबाट रोक्नुपर्ने बताए ।
‘मेरो ५० वर्ष लामो राजनीतिक इतिहासमा जे कुरा देखिरहेको छु, म त्यति सन्तुष्ट छैन,’ गच्छदारले भने, ‘हामी धेरै चुकेका छौँ, त्यसकारण नेपाल धेरै अल्मलियो, अहिले पनि राजनीतिक स्थिरता आउँदैन कि भन्ने चिन्ता लागेको छ ।’ उनले अहिलेको ५ दलीय गठबन्धन मिलेर चुनावमा जाँदा पनि बहुमत ल्याउन नसकेको बताए । ‘अहिले पनि कांग्रेसको नेतृत्वमा गठबन्धनबाट सरकार बन्न त सक्ला तर, अस्थिरता हुने हो कि भन्ने चिन्ता छ । त्यसो हुँदा संविधान र व्यवस्था कमजोर हुनसक्छ,’ उनले भने ।
०५१ सालमा आएको अहिलेकै जस्तो जनादेशका कारण मुलुक अहिलेसम्म अस्थिरतामा रुमल्लिइरहेको गच्छदारको दाबी थियो । ‘एक पटक ठूला पार्टी मिलेर जसरी ०४६ सालमा प्रजातन्त्र ल्याए, ०६२/०६३ मा सामन्ती राजतन्त्र अन्त्य गरे, त्यसरी नै अहिले आउन लागेको अस्थिरतालाई अन्त्य गर्न र मुलुकलाई फड्को मार्नका लागि नेपाली कांग्रेस र एमाले पार्टी मिलेर पाँच वर्ष सरकार चलाए हुने थियो भन्ने मेरो इच्छा हो,’ गच्छदारले भने ।