काठमाडौं । भारतले रुपन्देहीको सिमानामा एकतर्फीरुपमा पर्खाल लगाउन थालेपछि नेपाली प्रशासनले त्यसलाई रोक लगाएको छ ।
नेपाली पक्षसित समझदारी नै नगरि एकलौटी तरिकाले सिमानामा पर्खाल लगाउन थालेपछि नेपाली प्रशासनले पनि त्यसको प्रतिवाद गर्दै भारतको उक्त दादागिरीलाई रोकेको हो । जिल्लाको सिद्धार्थनगर नगरपालिका-१ को पक्लिहवा नजिकै १० गजासँगै जोडेर पर्खाल बनाउन लागेकोले नेपाल पक्षले कडा आपत्ती जनाएको छ ।
भारतीय सिमा सुरक्षा फौजले सिमा जाँच गर्नका लागि भन्दै सो पर्खाल लगाउन लागेको जनाएको छ । नेपालको शसस्त्र प्रहरीको फौज रहेको स्थानको १० गजा नजिकै भारतले एकलौटी तरिकाले इटा खसालेको छ । जग खनेर भारतले पिलर पनि ठड्याइसकेको बताइएको छ ।
नेपाल निर्वाचनमा होमिएको मौका पारेर भारतले यसरी सिमाना मिचेर पर्खाल लगाउन लागेको हो । तर नेपाली पक्षले विरोध जनाएपछि हाल पर्खाल लगाउने काम रोकिएको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले बताए । शसस्त्र प्रहरीले भारतले सिमानामा पर्खाल लगाउन लागेको जानकारी गराएको थियो ।
अर्यालले आफूहरुले तत्कालै गृह मन्त्रालयलाई खबर गरेको र भारतीय पक्षलाई निर्माण कार्य रोक्न लगाएको जानकारी दिए । उनले भारतले १० गजालाई नै प्रभावित पार्नेगरि पर्खाल लगाउन थालेको पनि उनले बताए । १० गजा नजिक कुनै पनि पक्षले कुनै पनि काम गर्दा अर्को पक्षको अनुमती लिएर मात्र काम गर्नु पर्नेमा भारतले भने एबलौटी तरिकाले पर्खाल लगाउन थालेको हो ।
तर भारतीय पक्षले यो कुराको पालना नगरेको सहायक प्रजिअको भनाई रहेको छ । १० गजा क्षेत्रमा कुनै पनि काम गर्दा दुवै देशका प्राविधिक टोलीको परामर्श लिएर मात्र गर्न पाइन्छ । नेपाल-भारत सिमाना बेलहीयामा सिमाना जाँच चौकी निर्माण भइरहेको छ ।