काठमाडौं । प्रतिनिधि सभा निर्वाचनका लागि हिमाली जिल्ला मनाङबाट निर्वाचित भएका टेकबहादुर गुरुङ आफूविरुद्धको भ्रष्टाचार मुद्दा टुंगोमा पुर्याउन दौडधुपमा लागेका छन् ।
भ्रष्टाचार मुद्दा अदालतमा विचाराधीन रहेका कारण संसद भवनभित्र प्रवेश गर्ने अबस्था नभएपछि उनी आफ्नो मुद्दा छिटो टुग्याउन लागिपरेका हुन् । उनले आफूविरुद्धको मुद्दाको विषयमा कानुन व्यवसायीसँ छलफल थालेका छन् । कानुन व्यवसायीको सल्लाह अनुसार मुद्दाको किनारा अन्तिम टुगो लाग्ने जानकारी पाएपछि उनी आफ्नो निर्वाचन क्षेत्रमा गएका छन् ।
नेपाली कांग्रेस मनाङका जिल्ला सभापति समेत रहेका गुरुङ जोडिएको भ्रष्टाचार मुद्दा वुधबार पेसीमा चढेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ माघ २१ गते दायर गरेको उक्त मुद्दाका कारण संघीय सांसदको भूमिकामा हुन नपाउने भएपछि उनी मुद्दा टुंग्याउन लागेका हुन्।
२०७५ माघ २१ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भृकुटीमण्डपको जग्गा भाडा विवादमा पूर्वमन्त्री रहेका गुरुङसमेतलाई विपक्षी बनाउँदै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
भृकुटीमण्डपस्थित फनपार्क भाडामा दिँदा अनियमिता गरेको आरोपमा अख्तियारले गुरुङसहित नेकपा एमालेका नेता एवं पूर्वमन्त्री बद्रीप्रसाद न्यौपाने समेत १४ जनालाई विपक्षी बनाएको छ। अख्तियारले विपक्षी बनाइएकाहरुविरुद्ध ३१ करोड ५२ लाख १७ हजार ६ हजार ७८ रुपैयाँ बिगो र कैद मागदाबी गरेको छ। गुरुङविरुद्ध अख्तियारले ३१ करोड बिगो दाबी गरेको छ। अख्तियारले मुद्दा दर्ता गरेपछि अदालतमा उपस्थित भएका गुरुङ २०७५ चैत्रमा साधारण तारखेमा छुटेका थिए।