• जेष्ठ ६ २०८३, बुधबार

 न्यायाधीश गिरीमाथि बलात्कारको आरोप

मंसिर २० २०७९, मंगलवार

काठमाडौं। कपिलवस्तुका जिल्ला न्यायाधीश भुवन गिरीमाथि बलात्कारको आरोप लागेको छ ।

पीडित महिलाले न्यायाधीश गिरीविरुद्ध सुरुमा कपिलवस्तु प्रहरीमा उजुरी गरेकी थिइन् । तर, कपिलवस्तु प्रहरीले उजुरी लिन नमानेपछि पीडित महिला एक साताअघि राष्ट्रिय मानव अधिकार अयोग र महिला आयोगमा पुगेर उजुरी दिइन् ।

दुवै आयोगले कपिलवस्तु प्रहरीलाई उजुरी लिएर छानबिन गर्न निर्देशन दिँदै पत्र पठाएका थिए । जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुका प्रमुख एसपी प्रेमबहादुर बस्नेतले मानव अधिकार आयोगको पत्राचारका आधारमा न्यायाधीश गिरीविरुद्ध छानबिन भइरहेको बताए ।

स्रोतका अनुसार, प्रहरीले न्यायपरिषदसँगको समन्वयमा छानबिन अघि बढाएको छ । न्यायाधीश गिरीमाथि एक महिलाले आफूलाई पछिल्लो ५ वर्षदेखि बन्धक बनाएर यौन शोषण गरेको भन्दै आयोगमा उजुरी दिएकी हुन् । करिब ५ वर्षदेखि बन्धक बनाएर यौन शोषण गरिरहेको न्यायाधीश गिरीमाथि आरोप रहेको छ ।

न्यायाधीश गिरीले पनि बलात्कार आरोप लगाउने महिलामाथि चोरीको आरोप लगाएका छन् । आफूमाथि छानबिन सुरु भएपछि न्यायाधीश गिरीले उच्च अदालत तुलसीपुरको बुटवल इजलासबाट १५ दिन विदा लिएका छन् ।