• जेष्ठ ६ २०८३, बुधबार

दलित समुदायलाई किरियापुत्री भवनमा बस्न नदिने ३ जनालाई १ वर्ष कैद सजाय

मंसिर २० २०७९, मंगलवार

काठमाडौं । सार्वजनिक ठाउँको किरियापुत्री भवन प्रयोग गर्न नदिएर किरियापुत्रीमाथि जातीय विभेद गरेको भन्दै जिल्ला अदालत कास्कीले ३ जनालाई जेल सजाय सुनाएको छ ।

कास्की जिल्ला अदालतका न्याायधीश अवनी मैनाली भट्टराईको एकल इजलासले पीडक देववहादुर थापा, रामवहादुर जिसी र जनक क्षेत्रीलाई नही एक वर्ष कैद, ५० हजार जरिवाना र पीडितलाई एक लाख रुपैयाँ क्षतिपूर्तिको फैसला सुनाएको हो । पोखरा–१६ बाटुलेचौरमा किरियापुत्रीमाथि तीन जनाले जातिय विभेद गरेका थिए ।

न्यायाधीश भट्टराईको इजलासले जातीय तथा अन्य छुवाछुत र भेदभाव (कसूर र सजाय ) ऐन २०६८ को दफा ७ को १ (क) अनुसार फैसला गरेको हो । ऐनको दफामा जातीय विभेद र अन्य भेदभाव गरेमा अभियुक्तलाई तीन महिनादेखि ३ वर्षसम्म कैद सजाय, ५० हजारदेखि दुई लाख जरिवाना, पीडितलाई दुई लाखसम्म क्षतिपूर्तिको व्यवस्था छ।

बाटुलेचौरको सार्वजनिक किरियापुत्री भवनमा किरिया बस्न दलितलाई नदिने भन्दै स्थानीय मोहन सुनारलाई उनीहरूले रोक लगाएको आरोप लागेको थियो। मोहनका भाइ सम्मरबहादुर सुनारको २०७६ चैत २३ गते दुबईमा निमोनियाका कारण निधन भएको थियो। उनको किरिया बस्न मोहनले बाटुलेचौरको सरकारी जमीनमा बनेको किरियापुत्री भवनको चाबी मागेका थिए।

जातीय विभेद गरेको भन्दै २०७७ वैशाख १८ गते मोहन सुनारले जिल्ला प्रहरी कार्यालयमा जातीय भेदभाव तथा छुवाछुत कसूरमा उजुरी दर्ता गरेका थिए।