• जेष्ठ ६ २०८३, बुधबार

सर्लाहीको चक्रघट्टा गाउँपालिकाका तत्कालीन अध्यक्ष यादवसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

मंसिर १६ २०७९, शुक्रबार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको चक्रघट्टा गाउँपालिकाका तत्कालीन अध्यक्ष बिक्रम यादवसहित ११ जनाविरुद्ध भ्रष्टार मुद्धा दायर गरेको छ।

यादवसहित निमित्त प्रमुख प्रशासकीय अधिकृत मुकेश कुमार पाठक, इन्जिनियर अजय यादव र लेखापाल शिव शंकर प्रसाद कुसवाहा, वडा नम्बर ४ का वडाध्यक्ष अब्दुल अहद कवारी, गाउँ कार्यपालिका सदस्यहरु विजय कुमार चौधरी र विनोद साहविरुद्ध मुद्दा दायर भएको हो।

आयोगले तत्कालीन अध्यक्ष यादवसहित चार जनालाई जनही ३ लाख ४१ हजार ५ सय ४४ रुपैयाँ विगो दावीसहित भ्रष्टाचार मुद्दा दायर गरेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

यस्तै, निमित्त प्रमुख प्रशासकीय अधिकृत मुकेश कुमार पाठक, इन्जिनियर अजय यादव र सव–इन्जिनियर जितेन्द्र यादव, उपभोक्ता समितिका अध्यक्ष शेख मोहम्मद इरफान अलि, कोषाध्यक्ष हजरा खातुन र सचिव मोहम्मद इरफान विरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्धा दायर भएको हो।

चक्रघट्टा–४ सुन्दरपुरस्थित वहिदको जग्गादेखि ढङ्ग्रा खोलासम्म पक्की नाला निर्माण गर्ने कार्यमा गुणस्तरहीन कार्य गरी रकम हिनामिना गरेको भन्ने उजुरीमाथि छानबिन गर्दा उनीहरुले सरकारी सम्पत्ति हिनामिना गरेको पाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

निर्माणस्थलमा भए गरेको कार्यभन्दा बढी तथा साइटमा नगरेको परिमाणको झुट्टा बिल भर्पाइ बनाई सरकारी रकम (बजेट) हिनामिना गरेको पाइएको अख्तियारले जनाएको छ।