काठमाडौं । जिल्ला प्रशासन कार्यालय कैलालीले सदरमुकाम धनगढीमा निषेधाज्ञा जारी गरेको छ । बिहीबार साँझ ७ बजेदेखि शुक्रबार साँझ ७ बजेसम्मका लागि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो ।
बिहीबार धनगढीमा ग्रेडरले कुल्चिएर पञ्चोदय माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत १४ वर्षीया छात्रा चेतना साउदको मृत्यु भएपछि विद्यार्थीहरू आन्दोलनमा उत्रिएका हुन् । विद्यार्थीहरूले आन्दोलन गर्दै धनगढी–स्याउले सडक अवरुद्ध गर्नुका साथै सडकमा टायर बाल्दै जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका छन् ।
सो अवस्थालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो । जिल्ला प्रशासन कार्यालय कैलालीले जारी गरेको आदेशमा उल्लेख गरिएको छ,–‘जिल्ला बैतडी डिलासैनी गाउँपालिका वडा नं ६ बस्ने गणेश साउदकी छोरी वर्ष १५ की चेतना साउद हाल यस जिल्लाको धनगढी उपमहानगरपालिका वडा नं ५ स्थित पञ्चोदय मावि हसनपुर कक्षा ८ मा अध्ययनरत छात्राको मिति २०७९÷०८÷१५ गते बिहान १०ः१५ बजे विद्यालय जाने क्रममा धनगढी उपमहानगरपालिका वडा नं ५ स्थित पिपल चौतारा दोबाटोमा सडक निर्माणको क्रममा ग्रेडरबाट दुर्घटना हुँदा मृत्यु भई उक्त घटना पश्चात् सृजना भएको परिस्थितिलाई मध्यनजर गर्दै हुन सक्ने अराजक गतिविधिहरूलाई नियन्त्रण गरी सर्वसाधारण नागरिकहरूको जनधनको सुरक्षा र सरकारी सम्पत्तिको संरक्षण गरी शान्ति सुव्यवस्था कायम गर्न आवश्यक देखिएकोले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६९(क) बमोजिम यस जिल्लाको तपसिलका क्षेत्र र समयमा ५ जनाभन्दा बढी व्यक्तिहरू आवतजावत गर्न, भेला, प्रदर्शन, घुमफिर गर्न, सवारी साधन चलाउन जिल्ला सुरक्षा समिति कैलालीको मिति २०७९।०८।१५ गतेको निर्णयअनुसार निषेध गरिएको छ । यस आदेशको उल्लङ्घन गरेमा कानुन बमोजिम कारबाही हुने ब्यहोरा सम्बन्धित सबै सर्वसाधारणको जानकारीका लागि सूचित गरिएको छ ।’