• बैशाख २७ २०८३, आईतवार

मंसिर २७ सम्म मेलम्चीको पानी काठमाडौंमा वितरन गरिने मन्त्री चौधरीको जिकिर

मंसिर १४ २०७९, बुधबार

काठमाडौं। खानेपानी मन्त्री उमाकान्त चौधरीले मंसिर २७ गतेसम्ममा मेलम्चीको पानी काठमाडौंमा वितरण गरिने बताएका छन् ।

बुधबार मेलम्ची खानेपानी आयोजनाको कार्यप्रगति बुझ्न मुहानस्थल अम्बाथान पुगेका मन्त्री चौधरीले २७ गतेभित्र काठमाडौंमा पानी वितरण सुरु गरिने बताएका हुन् ।

गत जेठदेखि बन्द गरिएको मेलम्चीमा गत सोमबारदेखि सुरूङमा पानी हाल्न सुरु गरिएको छ ।

पानी सुरूङमा हालेको करिब १० देखि १२ दिनपछि काठमाडौं पुग्ने मेलम्ची खानेपानी आयोजनाका साइड डिभिजनल इञ्जिनियर पदमबहादुर कुँवरले जानकारी दिए ।
मेलम्ची खानेपानीको हेडवर्क्स बाँधस्थल हेलम्बु पुगेर मन्त्री चौधरीले अब दीर्घकालीन रूपमै पानी पथान्तरणका लागि कार्ययोजना बनाइएको जानकारी दिए ।

उनले विभिन्न अध्ययन र प्रतिवेदनअनुसार सरकारले काम सुरू गर्ने बताए । सुरूङको १ नम्बर गेटको अवलोकन गर्दै मन्त्री चौधरीले समयमै ढोका बन्द गरेका कारण क्षति नभएको बताए ।

उनले थप क्षति नहोस् भनेर अपनाइएको सावधानीका कारण अहिले छिट्टै मेलम्चीको पानी पुनः सुरूङमा हाल्न सफल भएकामा खुसी व्यक्त गरे ।

निरीक्षणका क्रममा खानेपानी सचिव मणिराम गेलालले योजनाअनुसार नै काम भइरहेकाले मंसिर २७ गतेभित्रै मेलम्चीको पानी वितरण गर्न मन्त्रालय प्रतिवद्ध रहेको बताए । उनले माथिको जलाधार संरक्षण र बाढीपहिरो नियन्त्रणका लागि कार्ययोजना बनाएर स्थायी रूपमा नै समस्या समाधान गरिने जनाउँदै त्यसका लागि पनि काम सुरू भइरहेको बताए ।

अहिलेसम्म सुरूङ निर्माण र अन्य संरचना निर्माण गरेर ३४ अर्ब रुपैयाँ खर्च गरेको सरकारले अब करिब ३१ करोड रुपैयाँ खर्च गर्ने हो भने बाह्रै महिना पानी लैजान सकिने सचिव गेलालले बताए । निरीक्षणका क्रममा आयोजनाका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले स्थानीयको समस्या समाधान गरेर पानी लैजाने विषयमा आयोजना सकारात्मक रहेको बताए । उनले हेलम्बु गाउँपालिकालगायत स्थानीय तहले राखेका माग र यहाँका समस्या समाधानका लागि आयोजनाले काम गरिरहेको जानकारी दिए ।