• बैशाख २७ २०८३, आईतवार

कांग्रेसभित्रै भावी प्रधानमन्त्रीको लविङ र हानथाप, प्रचण्ड अनिर्णीत, माधव नेपाल के गर्लान् ?

मंसिर १३ २०७९, मंगलवार

काठमाडौं । देशैभर एकै चरणमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको सबै मतपरिणाम सार्वजनिक नहुँदै शीर्ष दलभित्रै प्रधानमन्त्री बन्ने दौडको आरम्भ भएको छ । विशेषतः नेपाली कांग्रेसका नेताहरूबीच अबको प्रधानमन्त्री को बन्नेभन्दा पनि म बन्छु भन्दै लविङ गरिरहेका छन् ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निर्वाचन हुनु अगावै आफ्नै गृहजिल्ला तनहुँ पुगेर प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन पश्चात् आफू नै प्रधानमन्त्री बन्ने इच्छा देखाएका थिए । भदौ १८ गते तनहुँको दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसको ३६औँ वार्षिकोत्सवमा पौडेलले मुलुकलाई सामाजिक न्याय, जनतालाई सुरक्षा, सुशासन दिन आफ्नो भूमिका देशले खोजेको बताए । उनले भने, ‘देशमा सुशासन, सामाजिक न्याय तथा समाजवादको लागि राजनीतिमा लागेको हुँ । त्यो पूरा गर्न कार्यकारी बन्न बाँकी छ ।’

‘देशलाई कार्यकारी भूमिका दिन बाँकी छ भनेर आँट गरेर म सक्रिय राजनीतिमा छु, देशको उन्नति र प्रगति भविष्यमा कसरी गर्न सक्छौँ भन्ने दूरदृष्टि पनि मसँग छ । कार्यकारी भूमिका खेलेर सुशासन दिने सामथ्र्य पनि छ,’ पौडेलले भने ।

उनले तीन महिनाअघि नै कार्यकारी भूमिकामा रहने सामथ्र्य भएको तर्क गरेपनि त्योबेला खासै चासोको विषय रहेन । तथापि निर्वाचन सकिएसँगै भावी प्रधानमन्त्रीका लागि पौडेलले आफूलाई सहयोग गर्न दलका शीर्ष नेताहरूसँग हारगुहार गरिरहेका छन् ।

हिजो (सोमबार) वरिष्ठ नेता पौडेलले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् । नेताद्वय पौडेल र नेपालको केही समय छलफल भएको पौडेलको सचिवालयले बताएको छ । भेटका क्रममा गठबन्धनलाई कायम राख्नेबारे छलफल भएको बताइएको छ भने पौडेलले प्रधानमन्त्रीको लागि सहयोग गर्न नेपालसँग आग्रह गरेको बताइएको छ ।

उनको आग्रहमा नेपालले सहयोगको आश्वासन दिएका छन् । नेपाल भने, ‘समकालीन सबै पीएम भए तपाईं बाँकी हो ।’ नेपालले यो गठबन्धन बनाउन योगदान भएको भन्दै प्रधानमन्त्रीको हकदार पौडेल भएको पौडेलको सचिवालयले बताएको छ ।

त्यस्तै कांग्रेस पार्टी संस्थापनइतरको नेतृत्व गर्दै आएका डा.शेखर कोइरालाले केही दिनअघि योहो टेलिभिजनसँगको संवादमा चुनावपछि प्रधानमन्त्रीमा आफ्नो पनि दाबी रहने बताएका थिए । संस्थापनइतर नेतृत्व गरिरहेका शेखरले आफ्नो दाबी बलियो बनाउन समानुपातिक सांसदमा आफ्नो पक्षको सहभागितालाई जोड दिनुपर्ने बताए । उनले भावी प्रधानमन्त्रीका लागि आफू सक्षम भएको बताउँदै पार्टीलाई सही दिशमा डोर्याउन सक्ने सामाथ्र्य भएको प्रष्ट्याए ।

कांग्रेसमा महामन्त्री तथा संस्थापनइतरका नेता गगन थापा प्रधानमन्त्री दाबी गर्ने युवा नेतामध्ये एक हुन् । यसअघि स्वास्थ्य मन्त्री समेत भइसकेका गगन युवा पुस्ताले अत्याधिक रुचाएका नेता छन् ।

गगनले उम्मेदवारी मनोनयन दर्ता गरेपश्चात् भनेका थिए, ‘पार्टीको पनि मूल जिम्मेवारी लिनुपर्छ । र, मेरो प्रयत्न त अब यहाँसम्म नेपालका राजनीतिक दलहरुले ल्याउनु भएकोमा उहाँहरुलाई धन्यवाद, उहाँहरुलाई आभार ! अब ड्राईभिङ सिटमा आफैँ बसेर योभन्दा अगाडिको पाँच वर्षको निम्ति आफैँ मूल ड्राइभिङ सिटमा बस्ने प्रयत्न गर्ने हो ।’

काठमाडौं–४ बाट निर्वाचित भए लगत्तै बुढानिलकण्ठ पुगेर गगनले यही भनाइलाई दोर्होयाएका थिए । ‘नेपालमा स्थिर सरकारमात्र हैन देश हाँक्ने नयाँ चालक खोजेको छ । यो चालक कसैले दिन सक्छ भने त्यो नेपाली कांग्रेसले मात्र दिन सक्छ ।’ उनले थपे ‘म आजैबाट कांग्रेसको संसदीय दलको निर्वाचनका लागि जुट्छ, देशलाई हाँक्न नयाँ जोशका साथ म लाग्छु ।’ उनको यो तर्कले पनि प्रधानमन्त्री पदका लागि गगनको नै दाबी हुने निश्चित छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पनि अबको प्रधानमन्त्री बन्ने दौडमा छन् । कांग्रेसभित्र पनि अन्य शीर्ष नेता प्रकाशमान सिंह, शशांक कोइराला प्रधानमन्त्रीकै रेसमा छन् ।

त्यस्तै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि प्रधानमन्त्री बन्ने सोचमा देखिन्छन् । तर यसपटक उनलाई सहज भने देखिँदैन । यदि कांग्रेसकै नेतृत्वमा सरकार बनेमा दोस्रो कार्यकाल आफूले पाउनुपर्ने उनको दाबी छ ।

त्यसैगरी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्काल वाम–गठबन्धनको सरकार बन्न नसक्ने प्रष्ट पारेका छन् । आज (मंगलबार) उनले पार्टी कार्यालयमा चुनावी समीक्षा बैठक पश्चात् सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले अहिलेकै सत्तागठबन्धनले निरन्तरता पाउने बताए पनि सरकार गठनमा सम्भव नरहेको बताए ।