काठमाडौं । मनाङबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका नेता टेकबहादुर गुरुङ निर्वाचित भएका छन् । तर, भ्रष्टाचार मुद्दाका आरोपित उनी संसद भने प्रवेश गर्न नपाउने भएका छन् । उनलाई अदालतले सफाइ नदिएसम्म उनी संसद बाहिर नै बस्नुपर्नेछ ।
कानुनले सार्वजनिक पद धारण गरेको व्यक्तिलाई भ्रष्टाचार आरोपमा मुद्दा चलेको अवस्थामा किनारा नलागेसम्म स्वत: निलम्बन हुने व्यवस्था गरेको छ ।
कानुन अनुसार अदालतबाट मुद्दाको किनारा नलागेसम्म प्रतिनिधिसभाको सदस्यको रुपमा निर्वाचित भएको प्रमाणपत्र बुझे पनि गुरुङ स्वत: पदबाट निलम्बित हुनेछन् । गुरुङले नेकपा एमालेका पोल्देन छोपाङ गुरुङलाई ३२८ मतले पराजित गरेका छन् । टेकबहादुरले २ हजार ५७५ मत ल्याएका छन् भने एमालेका गुरुङले २ हजार २४७ मत ल्याएका छन् ।
तत्कालीन सभापति सुशील कोइराला प्रधानमन्त्री हुँदा उनी ०७० फागुन १३ गतेदेखि ०७२ पुस ९ गतेसम्म श्रम तथा रोजगार राज्यमन्त्री भएका थिए ।
उनीमाथि शक्तिमा हुँदा त्यसको दुरुपयोग गरी काठमाडौंको फनपार्कको जग्गा भाडामा लगाएको विषयमा भ्रष्टाचार गरेको आरोप छ । उनीविरुद्व ०७५ माघमा विशेष अदालतमा मुद्दा दर्ता भएको थियो । उनीसहित १६ जनाविरुद्ध मुद्दा चलिरहेको छ । सो मुद्दामा गुरुङलाई मात्रै ३१ करोड बिगो दाबी गरिएको छ । तर, भ्रष्टाचारको अभियोग लागेका उनी राजनीतिमै सक्रिय छन् । उनी ०७५ कै चैतमा साधारण तारेखमा छुटेका थिए ।