काठमाडौँ । काठमाडौँका विभिन्न चार स्थानमा राखिएका शङ्कास्पद वस्तु हटाइएको छ। निर्वाचनको पूर्वसन्ध्यामा चुनाव प्रभावित पार्ने उद्देश्यले लागि राखिएको नक्कली वस्तु शुक्रबार हटाइसकिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए।
उनका अनुसार ती सबै वस्तु नक्कली रहेको र नेपाली सेनाको बम डिस्पोजल टोलील हटाएको हो। उनले ती वस्तुहरू शुक्रबार ललितपुरको एकान्तकुना, काठमाडौँको तारकेश्वर नगरपालिका–१, भत्केको पुल नजिक र अर्को बूढानीलकण्ठको स्पेसलचोकमा फेला परेको जानकारी दिए।
बिहीबार रातिदेखि नै निर्वाचनको मौन अवधि सुरु भएसँगै प्रहरीले सुरक्षा व्यवस्था चुस्त पारेको उनले बताए। उनले उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा कूल पाँच हजार चार सय ७३ म्यादी र र चार हजारभन्दा बढी नेपाल प्रहरी निर्वाचनका लागि खटिएको जानकारी दिए।
‘निर्वाचनको शान्तिसुरक्षामा कुनै कसर बाँकी राखिएको छैन, निर्वाचन लक्षित सुरक्षा योाजना अनुसारका टोलीहरु खटिएर गइसकेका छन्, निर्वाचन शान्तिपूर्ण हुन्छ’, रिजालले भने।