• बैशाख २७ २०८३, आईतवार

‘१५ लाखको रक्सी त एकैदिनमा खाइदिन्छ यार’ भन्ने मनाङेलाई आयोगले गर्ने भयाे २५ हजार जरिवाना

मंसिर २ २०७९, शुक्रबार

काठमाडौं । निर्वाचन आयोगले राजीव गुरुङ उर्फ दीपक मनाङेलाई २५ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ । गुण्डा नाइकेको परिचय रहेका दिपक पछिल्लो चरणमा राजनीतिमा आएका छन् ।

मनाङको प्रदेश सभा ‘ख’ बाट निर्विरोध निर्वाचित भएका गुरुङलाई निर्वाचन आचारसंहिता उल्लघंन गरेको अभियोगमा सो जरिवाना गरिएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

मनाङेले केही साता पहिले सार्वजनिक रूपमा निर्वाचन आयोगले तयार पारेको उम्मेदवारले गर्ने खर्चको सीमाको आलोचना गरेका थिए । उनले आयोगले उम्मेदवारलाई ३० लाखको खर्चको सीमा तोकेकोप्रति आपत्ति जनाउँदै उम्मेदवारी दर्ताकै दिन १५ लाखको रक्सी खाने बताएका थिए ।
उनले भनेका थिए,‘जुन अहिले निर्वाचन आयोगले ३३ लाख, ३० लाखभन्दा बढी खर्च गर्नु हुँदैन भनेको छ, ३० लाखमा नेपालमा चुनाव जित्छ यार, मनाङमा एकदिन नोमिनेसन गर्न जाँदा १५ लाखको त रक्सी खाइदिन्छ ।’

उनको सो अभिव्यक्तिपछि आयोगले उनलाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो । सो स्पष्टीकरण चित्त नबुझेपछि आयोगले जरिवाना गरेको हो ।