काठमाडौं । आज बिहीबार मध्यरातिबाट मौन अवधि सुरु हुँदैछ। निर्वाचन आयोगका अनुसार मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका उम्मेदवारले आज राति १२ बजेभन्दा अगाडिसम्म मात्र अन्तिम चुनावी प्रचार गर्न पाउनेछन्। त्यसपछि मध्यरातिबाट राजनीतिक दल, उम्मेदवार तथा दलका पदाधिकारीले चुनावी प्रचार गर्न पाउँदैनन् ।
निर्वाचन आयोगले यसपटक मौन अवधिलाई स्थिर समय भनेको छ । आयोगका आयुक्त रामप्रसाद भण्डारीका अनुसार मंसिर १ गते राति १२ बजेबाट स्थिर समय सुरु हुने भएको हो । ‘मौन अवधि’ भन्ने गरिए पनि त्यसको सट्टा ‘शून्य समय’ भन्नु उपयुक्त हुने भएकाले ४८ घण्टालाई ‘स्थिर समय’ मानिने बताएको छ ।
यस समयमा चुनावी प्रचारप्रसार गर्न नपाइने उनले जानकारी दिए । केन्द्रीय आचारसंहिता अनुगमन समिति संयोजकसमेत रहेका भण्डारीले एक भिडियो सन्देशमार्फत् उक्त जानकारी दिएका हुन् ।
के के गर्न पाइँदैन ?
-निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नहुने।
-मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ-आफ्ना निर्वाचन चिह्न तथा प्रचार र प्रसारका सामग्री हटाएको हुनुपर्ने।
-एसएमएस, फेसबुक, भाइवरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नहुने।
-अनलाइन, छापा वा अरू कुनै पनि माध्यमबाट दल वा उम्मेदवारको पक्ष वा विपक्षमा सन्देश, सूचना वा प्रचारका सामग्री पोस्ट वा सेयर गर्न नहुने।