काठमाडौं । उच्च स्तरीय निर्वाचन सुरक्षा समितिले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ‘बहिष्कार’ गर्ने समूहमाथि कडा निगरानी गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।
निर्वाचन आयोगमा बसेको उच्चस्तरीय निर्वाचित सुरक्षा समितिको बैठकमा प्रमुख निर्वाचित आयुक्त दिनेशकुमार थपलियासहित सबै सुरक्षा निकायका प्रमुखहरू सहभागी थिए । सो समितिका संयोजक निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्याल हुन् ।
बैठकमा शान्तिसुरक्षा मिलाउने आचारसंहिता पालना गराउने विषयमा छलफल भएको एकजना उच्च सुरक्षा अधिकारीले बताए । ति अधिकारीले भने–‘चुनाव बहिष्कार गर्ने समूहले विस्फोट गराउन सक्ने हुनाले त्यस्ता समूहलाई कडा निगरानी गर्न गृह मन्त्रालयलाई समितिले निर्देशन दिएको छ ।’
मंगलबार निर्वाचन सुरक्षाबारे भएको छलफलमा गृह सचिव, अर्थ सचिव, रक्षा मन्त्रालयका सचिव र निर्वाचन आयोगका सबै आयुक्तहरू सहभागी थिए । सुरक्षा समितिले आचारसंहिता कडाइपूर्वक पालना गराउन गृह मन्त्रालयलाई भनेको छ ।
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत), मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी (माओवादी), ऋषि कट्टेल नेतृत्वको नेकपा र कर्णजित बुढा नेतृत्वको नेकपा माओवादी समाजवादीले चुनाव बहिष्कार गर्ने निर्णय गरेका छन् ।