काठमाडौं । कास्की–३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामजी बरालको उम्मेदवारी खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ ।
सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार बराल कालोसूचीमा रहेको दाबी गर्दै उम्मेदवार हुन अयोग्य रहेको उजुरीमा उल्लेख छ । पोखरा–२४ का बोधराज रेग्मीले दिएको उजुरीमा युवा तथा साना व्यवसायी स्वरोजगार कोषलाई बुझाउनुपर्ने ३८ लाख २४ हजार ७०८ रुपैयाँ नबुझाएर उनको नाम कालोसूचीमा रहेको उल्लेख छ ।
उक्त रकम नबुझाएको भन्दै कोषले २०७६ वैशाख १ गते कालोसूचीमा राखेको र हालसम्म पनि नबुझाएकाले उम्मेदवार बन्न योग्य नरहेको उजुरीमा दाबी गरिएको छ ।
गण्डकी प्रदेशका अर्थमन्त्रीसमेत रहेका बराल संलग्न रहेको गण्डकी माछापुच्छ«े सहकारी संस्थाले कोषबाट २०६९ फागुन २१ गते ५० लाख ऋण लिएको थियो ।
उक्त रकम २०७३ असार मसान्तसम्म बुझाउनु पर्ने सम्झौता थियो । समयसीमा भित्र रकम नबुझाएपछि बरालसहित सहकारीमा आवद्ध १५ जनालाई कोषले कालोसूचीमा राखेको थियो ।
कालोसूचीमा नाम रहँदासमेत आयोगलाई विवरण नदिएर उनले आफूलाई उम्मेदवार बन्न योग्य रहेको झुटो दाबी गरेको उजुरीमा उल्लेख छ ।