भक्तपुर । यहाँका किसान धान भित्र्याएर गहुँ छर्ने चटारोमा छन् । यहाँका किसान, व्यापारी, महिला, पहिलो पटक मतदान गर्न लागेका युवायुवती मङ्सिर ४ गते प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा हाम्रालाई नभई राम्रालाई रोजेर भोट दिने बताउन थालेका छन् ।
यो चुनाव देश बनाउने चुनाव हो, सरकार बनाउने चुनाव हो भन्दै त्यसैले अहिलेको चुनावलाई हल्का रुपमा नलिई राम्रा उम्मेदवार छानेर मतदान गर्ने मतदाता बताउँछन् । सूर्यविनायक नगरपालिका–१ सिरुटारकी १९ वर्षीया सम्झना खड्का पहिलो पटक मतदान गर्ने प्रतीक्षामा छन् । उनले उत्साहित हुँदै भने, “म त पहिलो पटक मतदान गर्न लागेकी हुँ, आफ्नो गाउँको र यो देशको विकास गर्न सक्ने उम्मेदवार रोजेर भोट हाल्छु । मेरो पहिलो मत खेर नजाओस्, झूटा आश्वासन दिने आफन्त नै भए पनि काम गर्न सक्ने राम्रालाई भोट दिन्छु ।”
यस पटकको मतदानमा चार मतपत्र हुने भएकाले कुन मतपत्र कुन उम्मेदवारका लागि हो, कुन भोट सङ्घीय र प्रदेशसभाका लागि हो, कुन समानुपातिकका लागि हो भन्नेमा अलिअलि अलमल रहेको पनि मतदाता शिक्षाले सहज बनाइदिएको उनको भनाइ छ ।
कसलाई भोट दिने भनेर परिवारमा छलफल हुने गरेको जनाउँदै उनले परिवारका सबै जनाको विचार एउटै नभएकाले एकै उम्मेदवारलाई सबै भोट जाने सम्भावना नभएको बताए ।
सूर्यविनायक–४ दधिकोटकी पूजा न्यौपाने कतिपय दलका विगतका सरकार हेरेको बताउँदै देश विकास गर्ने मूल एजेन्डा बोकेको विश्वासिलो दललाई भोट दिने सुनाए । अहिलेका मतदाता धेरै बाठा भएकाले कुन दल र कुन नेता रोज्ने भन्नेबारेमा मतदाता सचेत रहेको उनले बताए । उनले भने, “गाउँमा सडक बन्यो, पुल बन्यो, खानेपानी आयो, खै त हाम्रो खेतमा हाल्ने मल, न असारमा मल पायौँ, न अब गहुँ छर्ने आलु रोप्ने बेला आयो ।”
भक्तपुर नगरपालिका–१ सल्लाघारीका वसन्त श्रेष्ठले २० वर्षदेखि पार्टी र नेताको गतिविधि नियालिरहेको उल्लेख गर्दै अब कसले विकास ल्याउन सक्ने भन्ने प्रस्ट भएको बताए । “२०४८ सालको निर्वाचनदेखि २०७४ सालसम्मको निर्वाचनलाई हेरेका छौँ, सबै दल र उम्मेदवारलाई राम्ररी चिनेका छौँ, हामीलाई २०७२ सालको भूकम्पमा, हनुमन्तेको बाढीले भक्तपुर र ठिमी डुबानमा पारेका बेलामा, कोरोनोका महामारीका बेलामा को नेताले जनतालाई साथ दियो, कुन दलले जनतालाई साथ दियो, भक्तपुरमा कसले विकास ल्यायो हामीले बुझेका छौं, उनले भने ।”
सूर्यविनायक–५ कि ४१ वर्षीया सामाजिक कार्यकर्ता अनिता पाण्डे महिला, बालबालिकाको अधिकारका लागि लड्न सक्ने नेता आफूले चुन्ने बताए । उनले भने, “मतदातालाई यस पटक मत दिन सजिलो छ, विगतमा जितेर जाने नेताले कति विकास गरे, विकासका सवालमा हार्ने दलले पहल गरे कि गरेनन्, भ्रष्टाचार भयो कि भएन, सडक, खानेपानी, ढल टोलटोलमा पुग्यो कि पुगेन, चुनावपछि जितेका र हारेका पार्टीका नेता आफ्नो गाउँमा आए कि आएनन्, जनताको सुख दुःखमा नेताले साथ दिए कि दिएनन्, कोरोना महामारीमा नेताहरु जनताको समस्या समाधान गरे कि गरेनन् यी सबै मूल्याङ्कन गरेर मतदान गर्ने विचार गरेको छु ।”
चाँगुनारायण नगरपालिका–९ ताथलीकी ३१ वर्षीया रेणुका बस्नेत दल र उम्मेदवार धेरै भएकाले बुझेर मात्रै मतदान गर्ने बताउँछन् । यस पटक दलका उम्मेदवारभन्दा स्वतन्त्र उम्मेदवार धेरै भएको उल्लेख गर्दै सबैको एजेन्डा र घोषणापत्रको अध्ययन गरिरहेको र विश्वासिलो एजेन्डा लिएर आउने उम्मेदवार आफ्नो रोजाइमा पर्ने उनले बताए ।
चाँगुनारायण–७ वागेश्वरीका ७६ वर्षीय रामशरण काफ्लेले ज्येष्ठ नागरिकको समस्या बुझ्नेलाई भोट हाल्ने बताए । “हामी बूढाबूढीलाई यसो बिहान–बेलुका साथीभाइ भेटघाट गर्ने मिलन चौतारी, पाटीपौवा बनाइदिने, वृद्ध भत्ता, पेन्सन घरमै ल्याउने व्यवस्था गरिदिने, भजनकीर्तन गर्ने ठाउँ बनाइदिने नेतालाई भोट हाल्न पाए हुन्थ्यो, उनले भने ।”
चाँगुनारायण–६ नगरकोटका सुवास लामा नगरकोटको बाटो बनाउने सङ्कल्प गर्ने, गरिबका लागि शिक्षा, स्वास्थ्य निःशुल्क गर्ने, युवा बेरोजगारलाई रोजगार दिने, गाउँमै उद्यमी हुने कार्यक्रम ल्याउने, युवालाई व्यवसायमा प्रोत्साहन दिने, निब्र्याजी ऋणको व्यवस्था गर्ने, भ्रष्टाचार गर्दिनँ भनेर सङ्कल्प गर्ने नेतालाई भोट दिने बताउँछन् ।
मध्यपुरथिमि नगरपालिका–५ का रामकृष्ण प्रजापति भन्छन्, “कृषि प्रधान देश, मल कारखाना छैन, भक्तपुर जिल्लाभरिका किसानले सधैँ मल अभाव खेप्नु परेको छ, मल कारखाना नेपालमै खोल्न र किसानलाई मलको सहजै व्यवस्था गर्न सक्ने नेता हामीलाई चाहिएको छ ।” रासस