• बैशाख २७ २०८३, आईतवार

उम्मेदवारसँग उद्यमी बन्ने योजना माग्दै किसान, माग पूरा गर्न सक्लान् ?

कार्तिक ३० २०७९, बुधबार

पाल्पा । चुनावको चहलपहल बढिरहँदा मतदाताले आफ्ना समस्या र गुनासा उम्मेदवारसमक्ष पोखिरहेका छन् । आ–आफ्नो क्षेत्रमा भोगेका समस्यालाई समाधान गर्ने खालका योजना ल्याउन उम्मेदवारलाई माग गरिरहेको पाइन्छ । किसान मतदाता पनि कृषिलाई आधुनिकीकरण गरी व्यावसायीकरण गर्ने खालका कार्यक्रम ल्याउन माग गरिरहेका छन् ।

परम्परागत कृषि प्रणालीले किसानले फड्को मार्न नसकेको भन्दै नयाँ प्रविधिको विकास, कृषिमा सहुलियत अनुदान, बजारीकरण, गाउँमा बाँदर आतङ्क रोक्नेलगायतको प्रबन्ध मिलाउन गुनासो उम्मेदवारसमक्ष सुनाउँदै यसमा सम्बोधन गरी प्रतिबद्धता जनाउन अनुरोध गरिरहेका छन् ।

प्रविधिबारे राम्रो ज्ञान र सीप नहुँदा किसानले लागतअनुसार उत्पादन लिन नसकिरहेको रामपुरका दिलबहादुर थापा बताउँछन् । धेरै मेहेनत र परिश्रम गरे पनि किसानमा खेती गर्ने प्रविधिबारे जानकारी नहुँदा केही गर्ने आशा बोकेर कृषिमा लागेका युवा टिक्न नसकेको उनले बताए ।

“व्यावसाय सुरु गरेर बीचमै धेरैले छाडेका छन्, व्यावसायिकरूपमा कृषि गर्ने कम छन्, तिनलाई कृषिमै टिकाउने वातावरण नेतृत्वले ल्याउनुपर्छ”, उनले भने, “अर्कोतर्फ प्रविधि नजान्दा लगानी र मेहेनतअनुसारको उत्पादन किसानले लिन नसकिरहेको अवस्था छ, बेला–बेलामा प्रविधिसम्बन्धी ज्ञान, सीप सिकाउने र बाहिरबाट भित्रिने कृषि उपज कम गरी स्थानीय उत्पादनले नै बजार ढाक्ने वातावरण कृषकलाई चाहियो ।”

थापाले साना, मझौला र ठूला किसान वर्गीकरण गरी सोको आधारमा सबैलाई कृषि अनुदान उपलब्ध गराउनुपर्ने थापा बताउँछन् । भर्खरै व्यवसाय सुरु गर्नेलाई व्यावसायिक बनाउने र व्यावसायिक किसानलाई उद्यमी बनाउने योजना नेतृत्वले ल्याउनुपर्ने उनी बताउँछन् । निर्वाचनमा मत माग्न घर आउने उम्मेदवारलाई किसान विशेष योजना लिएर आउन थापाले अनुरोध गरेका छन् ।

व्यावसायिक तरकारी तथा फूलखेती गर्नुभएका थापाको फार्ममा भेटघाट गर्न पुग्नुभएका नेपाली कांग्रेसका समानुपातिक उम्मेदवार सन्दीप रानाले सो कुराको प्रबन्ध गर्ने खालका कार्यक्रम ल्याउने प्रतिबद्धता जनाएका छन् । उनले साना किसानलाई व्यावसायीकरण गरी यसबाटै निर्धक्कसँग बाँच्ने आधार सिर्जना गर्ने खालको कार्यक्रम ल्याउने बताएका छन् ।

“किसानलाई सम्मान र प्रोत्साहनमूलक खालका कार्यक्रम ल्याउने, समयअनुसार चलनचल्तीमा आएका आधुनिकीकरण प्रविधि विस्तार, कृषि पेशालाई सम्मानित र गर्व गर्न लायकको कार्यक्रममा जोड दिनेछु, स्थानीय उत्पादनलाई पहिलो प्राथमिकता दिएर बाहिरबाट भित्रिने कृषि उपजलाई रोक्ने खालका योजना किसानमाझ ल्याएको छु”, उम्मेदवार रानाले भने ।

रम्भा गाउँपालिका १ सगाहाका अगुवाका कृषक ऋषिराम अर्यालले साना र टुक्रे योजना ल्याउनुभन्दा राज्यले देखिने र प्रतिफल दिने खालका योजना आवश्यक रहेको बताउँछन् । उनले गाउँघरमा मत माग्न आएका उम्मेदवारलाई उत्पादन क्षेत्र विभाजन गरी पकेट क्षेत्र विस्तारका कार्यक्रममा जोड दिनुपर्ने माग गरेका छन् ।