• बैशाख २७ २०८३, आईतवार

बागलुङमा संसदीय निर्वाचन बहिष्कार सभाबाटै मशालका १३ जना पक्राऊ

कार्तिक २९ २०७९, मंगलवार

काठमाडौं । मंसिर ४ गते हुन गइरहेको संसदीय निर्वाचन बहिष्कार गर्न हिँडेका नेपाल कम्युनिस्ट पार्टी (मशाल)को विद्रोही समूहलाई प्रहरीले बागलुङबाट पक्राउ गरेको छ ।

चुनाव बहिष्कार कार्यक्रमको कोणसभा गर्न लागेको अवस्थामा नेकपा (मशाल)का पोलिटब्युरो सदस्य कृष्णराज पौडेलसहित १३ जनालाई पक्राउ गरिएको बागलुङका एसपी दयानिधि ज्ञवालीले बताए ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बहिष्कार गर्न हिँडेका उनीहरू जैमिनी नगरपालिका–१ स्थित उपल्लो बजारबाट पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा ३९ वर्षीय लालबहादुर नेपाली, ५२ वर्षीय दलबहादुर विक, अखिल भारत नेपाल एकता समाजका केन्द्रीय सदस्य ४६ वर्षीय सूर्यबहादुर थापा, ३५ वर्षीय सागर कुँवर र पार्टीका केन्द्रीय प्रतिनिधि नारायण सापकोटासहित १३ जना छन् । उनीहरूबारे अनुसन्धान भइरहेको एसपी ज्ञवालीले जानकारी दिए ।